रौतहट । रौतहटमा गर्मी सँगै चुनावी सरगर्मी बढेको पाईएको छ । रौतहटमा बिभिन्न पार्टीका नेताहरु आफ्नो तिर मत ल्याउन जनतासंग भेटघाटलाई निरन्तरता दिएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चहलपहल रौतहटमा बढेको छ ।
निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । उम्मेदवारको टुंगो नलगाएका भएपनि राजनीतिक दलहरुले आफ्नो पक्षमा मत तान्न गाउ गाउँ पुगीरहेका छन् । मतदाता रिझाउनका लागि दलका नेताहरु गाउ गाउ पुग्ने होडबाजी चलेको छ ।
मुख्य प्रतिस्पर्धीको रुपमा रहेका कांग्रेस र एमालेले चुनावी अभियानलाई तीव्रता दिएका छन् । यसका साथै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जनता समाजबादी पार्टी पनि स्थानीय तहहरुमा चुनावी अभियान शुरु गरेका छन् ।
केन्द्र र प्रदेश सरकारमा गठबन्धनमा रहेका दलहरु पनि जिल्लामा भने एक्ला एक्लै चुनावी प्रचार प्रसार गरिरहेका छन् । ती दलहरु तालमेल गर्ने विषयमा टुंगो नलाग्दा एक्ला एक्लै प्रचारमा जुटेका हुन् । नेपाली कांग्रेसले केद्रीय कार्यक्रम अनुसार घरघर जाऔं, कांग्रेस जिताऔ भन्ने अभियान सञ्चालन गरिरहेको छ । पालिका स्तरको अभियान सकेर अहिले वडा तहमा अभियान सञ्चालन गरिरहेको छ।कांग्रेसले निर्वाचन केन्द्रित भएर गाउँ गाउँमा चुनावी अभियान सञ्चालन गरिरहेको छ ।
स्थानीय निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल र घरमा पुग्ने अभियान सञ्चालन गरिएको छ । देशका ठूला परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा भएको र अब विकासको श्रृखंला पनि नेपाली कांग्रेसकै नेतृत्वमा जोड्नुपर्ने भएकाले अभियान सञ्चालन गरिएको हो ।
नेकपा एमालेले पनि निर्वाचन केन्द्रित भएर प्रचार प्रसारमा जुटिसकेको जनाएको छ । गाउँ गाउँमा संगठन विस्तार गर्नुका साथै चुनावी अभियानलाई तीव्रता दिएको छ । एमाले स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ अघि बढेको छ, जनमत हाम्रो पक्षमा नै आउँछ ।
यस्तै माओवादी केन्द्रले पनि चुनावी अभियानलाई तीव्रता दिएको छ । माओवादी पाटी पनि कम कहाँ छ र माओबादीको एजेण्डामा चलिरहेको बताउँदै नेतृत्वको भूमिकामा पनि माओवादीलाई ल्याउनुपर्ने बताईरहेका छन ।माओबादीले बोकेको एजेण्डामा देश चलिरहेको छ तर हाम्रो नेतृत्व नहुँदा परिवर्तन संस्थागत हुन सकेको छैन् ।