जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ २२ गते । सुनसरी सदरमुकाम इनरुवामा पाचौं करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । यहाँ बसोबास गर्ने उराँव समुदायले आफ्नो महान पर्व करम पूजाको अवसरमा पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको हो ।
नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको आयोजनामा करम पूर्व सन्ध्या कार्यक्रम गर्ने तयारी पुरा गरिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो । भाद्र पूर्णिमाको दिन करम पूजा मनाइने भएकाले त्यस अघि नै जमरा राख्ने चलन गरेको उराँवले बताउनुभयो । करम पूजालाई “राजी करम” पनि भनिन्छ । करम पूजा मनाउनलाई एक हप्ता अगाडि बाजा–गाजा सहित स्थानीय नदीबाट जमरा राख्न वालुवा ल्याइन्छ । सोही विधि अन्तरगत इनरुवाको सुनसरी खोलाबाट बालुवा ल्याएर जमरा राखिएको उराँवले जानकारी दिनुभयो ।
अध्यक्ष उराँवका अनुसार जमरा राख्ने बेलामा उराँव महिला तथा पुरुषहरूले जातीय पहिरनमा ¥याली समेत निकालिएको थियो । उराँव समुदायको महान पर्वको बारेमा जानकारी दिन तथा भाषाको संरक्षण गर्ने र मौलिकता प्रदर्शन गर्ने उद्देश्यका साथ कार्यक्रम गर्ने तयारी गरेको प्रतिष्ठानका उपाध्यक्ष जयप्रकाश उराँवले बताउनुभयो ।
उहाँले उराँवहरूको हक, अधिकार र पहिचानका लागि योगदान रहने गरि पाँचौं करम पूर्व सन्ध्या कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।
प्रतिष्ठानका सचिव रामलाल उराँवले उराँवहरू नेपालका धर्ती पुत्र भएकाले आफूहरूको हरेक क्षेत्रमा प्रतिनिधित्व आवश्यक रहेको उल्लेख गर्नुहुदै यस प्रकारको कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उराँवहरूको पहिचान तथा सम्मानका लागि कार्यक्रम गर्ने उहाँको भनाइ छ ।
उराँवहरूले करम राखेको दिनदेखि नै अहिले दैनिक अखडा(मञ्च) मा आफ्नो पहिरनसहित नाचगान गर्ने, प्रवचन भन्ने र सुन्ने लगायतका कार्यक्रम गर्दै करम पूजा गर्ने गरेको प्रतिष्ठानका कोषाध्यक्ष तथा शिक्षक सम्पतलाल उराँवले जानकारी दिनुभयो । करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रममा उराँव कलाकारहरूले नाटक, नृत्य र झाँकी प्रदर्शन गर्ने भएको छ ।
करम पूर्व सन्ध्या कार्यक्रममा आफ्नो कला कौशल, गीत, नृत्य, पहिरन, बाजागाजा, पोशाक, मौलिक हातहतियार, कृषि औजार, जीविकोपार्जनका साधन प्रदर्शन गरिने तयारी भएको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका सहसचिव देवप्रकाश उराँवले बताउनुभयो ।
प्रतिष्ठानका सल्लाहकार नुनुलाल उरावले नयाँ पुस्तालाई उराँव समुदायको परम्परागत भेषभुषा र भाषा, संस्कृति प्रति जानकारी दिने र इनरुवा झोडा फँडानी भएका समयमा बसोबास गर्ने पहिलो जाति भएकाले यस जातिका बारेमा सबैलाई जानकारी गराउनको लागि पनि करम पूर्व सन्ध्या गर्दै आएको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार सुनसरीमा जमरा राखेर करम पुजा सुरु भएको छ । कर्ममा विश्वास गर्ने उराँवहरुले आफ्नो कुल देवताको पुजा गर्नका लागि जमरा राखेदेखि नै भदौ २५ गते सनिबार भव्यताका साथ मनाउने करम पूर्व सन्ध्या कार्यक्रम गर्ने र आईतबार जमरा विर्शजन गरेर सम्पन्न गर्ने उहाँको भनाई छ ।
प्रतिष्ठानका अध्यक्ष बेचन उराँव, उपाध्यक्ष जयप्रकाश उराँव, सचिव रामलाल उराँव, कोषाध्यक्ष सम्पतलाल उराँव, सहसचिव देवप्रकाश उराँव सहित सदस्यहरु दुर्गानारायण उराँव, प्रमेश्वर उराँव, रिमा उराँव, जयकुमार उराँव, सल्लाहकार नुनुलाल उराँव, बासुदेव उराँव, उराँव अगुवा जयराम उराँव, भूमि उराँव, प्रेमलाल उराँव, लक्ष्मी उराँव, विनोद उराँव, विजय उराँव लगायत उराँवको उपस्थितीमा जमरा राखिएको थियो ।

करम पूजा
उराँव जातिले मनाउने सबैभन्दा मुख्य चाड करम पूजा हो । शुरु शुरुमा यो चाड भाद्र शुल्क एकादशीको दिन मनाइन्थ्यो भने अहिले भाद्र पूर्णिमाको दिन करम पूजा मनाइन्छ । करम पूजा मनाउनलाई एक हप्ता अगाडि बाजा–गाजा सहित नदीबाट जमरा राख्न वालुवा ल्याइन्छ । चौका लगाई गाउँभरी जमरा राख्न लगाइन्छ । भाद्र पूर्णिमाको दिन तीन तीन जना कुमार र कन्या (कुवार) केटा–केटीलाई उपवास गर्न लगाइन्छ । साँझ वेलुकी पख पुरुषहरु बाजा–गाजा सहित करम रुखको हाँगा काट्न जान्छन् । महिलाहरु पनि बाजा–गाजा सहित कक्रो (गंगटो) फूल टिप्न जान्छन् । करम रुखको तीन वटा हाँगा काटी ती कुमार केटाहरुले ल्याउँछन् भने केटीहरुले कक्रो पूmल ल्याउँछन् । नेग जो करम गाड्छ उसले ती तीनवटै करम हाँगालाई आफ्नो छानामा राख्छ । सबै आफ्नो इष्टमित्र, पाहुनासँग मिलेर मीठो मसिनो खान्छन् । खाना पश्चात् उनीहरु अखड़ामा जम्मा हुन्छन् । नेगले करम गाड्छ । करम अगाडी दीयो र अगरवत्ती बाल्छन् । आइमाईहरु कक्रो फूल, मालपुवा, चामलको अछता, दीयो, चामलको पिठो, सिन्दुर, जमरा, जाँड र पानीले करम बाबाको पूजा अर्चना गर्छन् । अखड़ा रुग्र्ने बूढो पूजारीले करम पूजा र करम बाबाको महिमा बारेमा कथा श्रवण गर्छ । कथा सुन्दै महिला र पुरुष बाजा–गाजा सहित करमलाई तीनपल्ट परिक्रमा गर्छन् । केटा–केटी, महिला र पुरुषसँग मिलेर रातभर बाजागाजा सहित रातभर नाच्छन् । गाउँछन् ।
यो पूजा उनीहरु खेतपाती लगाई सकेपछि आफ्नो थकान मेटन र अन्नवाली राम्ररी उब्जीयोस् भनेर आफ्नो कर्मलाई पूजा अर्चना गर्छन् । कोही भन्छन् वन–जंगलमा सिकार खेल्दा राती करम रुखले बाघ, भालु तथा अन्य जंगली जनावरबाट जोगाएकोले यो रुखको पूजा गर्छन् ।

१, सुनसरी सदरमुकाम इनरुवामा करम पूर्व सन्ध्या अन्तरगत जमरा राख्दै उराँवहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा





