काठमाडौं, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद सहज रुपमा चल्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिन पाउनुपर्ने बताएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर भएको भन्दै यसमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिने वातावरण बनाउनुपर्ने बताएका हुन् ।
उनले सदनमा प्रधानमन्त्रीको जवाफ चित्त नबुझे थप कदम चाल्ने प्रक्रिया अलग भएपनि तत्कालका लागि प्रधानमन्त्रीलाइ जवाफ दिनका लागि सदन चलाउनुपर्ने धारणा राखे ।
रास्वपालाई कुनै अमुक दलको पछि लाग्यो भन्ने आरोप लागेको भन्दै लामिछानेले सबै प्रतिपक्षी दल एउटै नभएको र रास्वपाको पनि आफ्नो छुट्टै एजेण्डा रहेको तर्क गरे । लामिछानेले सदन कुनै नेताको मुडमा चल्ने कुरा नभइ जनताप्रति उत्तरदायी हुने बिषय भएको बताए ।
उनले यसअघिका बैठकमा सभामुखले प्रतिपक्षी दल एमालेलाई बोल्न समय दिएर सत्तापक्षलाई बोल्न समय दिएको तर रास्वपालाइ बोल्न नदिएको भन्दै असन्तुष्टि जनाए ।
लामिछानेले आफूहरू जनताको मुद्धाको पछि लागेको भन्दै कुनै राजनीतिक दलको पछि नरहेको स्पष्ट पारे । उनले मिटरब्याजी सम्बन्धी कानून लागू हुनुपर्छ भन्ने पक्षमा रास्वपा रहेको तर सरकारले अन्तिम दिनमा सदनमा ल्याएर आफू जनप्रिय छु भन्ने देखाउन खोजेको पनि बताए ।
उनले महत्वपूर्ण विधेयकहरूप्रति रास्वपा सचेत रहेको धारणा राखे ।





