इनरूवा । सुनसरी सदरमुकाम इनरुवामा विश्व मानवता दिवशको अवसरमा दुई जना महिला मानवअधिकारकर्मी सम्मानित हुनुभएको छ । महिला पूनस्थापना केन्द्र ओरेकको आयोजनामा विश्व मानवता दिवश २०२३ को अवसर पारेर इनरुवाकी अधिकारकर्मी कानुन दाहाल अधिकारी र कोशीकी अधिकारकर्मी रामकुमारी यादवलाई सम्मान गरेको हो ।
दाहाल र यादवलाई कार्यक्रमका प्रमुख अथिति एवम् सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपानेले संयुक्त रुपमा सम्मान गर्नुभयो । सम्मान कार्यक्रममा दिएको जानकारी अनुसार २०६५ भदौ २ गते कोशी बाढी प्रभावितहरुलाई उद्धार, राहत र संरक्षणमा विषेश योगदान गरेकाले रियल लाईफ हिरो सम्मान अर्थात महिला नेतृत्वको सवलिकरण मानविय संकटमा उदाहारण सम्मान बाट सम्मानित गरिएको जनाएको छ । यसैबीच विश्व मानवता दिवस आईतबार आरेकले महिला नेतृत्वको सवलिकरण मानविय संकटमा उदाहारण विपतको अवस्थामा लैगिंक हिसाँका सवाल सम्बोधनका लागि जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ ।
सम्पन्न भएको बैठकमा सकुन्तला भण्डारी, रमेश भट्टराई, रविन घिमिरे, पुष्प भट्टराई, बालकुमारी विक, जयकृष्ण यादव, तोया गिरी पोदार, सहजादी प्रविण, मजुद्धिन अंसारी, कविता मण्डल, प्रहरी निरीक्षक निरला भण्डारी, दिनेश साह सहितको उपस्थिती रहेको थियो । यो दिवश भने नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको अगष्ट १९ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘जे भए पनि सँगै’ अर्थात् जस्तोसुकै परिस्थितिमा पनि मानव अधिकारका लागि सबै समुदायसँग काँधमा काँध मिलाएर काम गर्ने भन्ने रहेको छ । संयुक्त राष्ट्रसङ्घअन्तर्गत नेपाल रहेका विभिन्न निकाय तथा अन्य गैरसरकारी सङ्घ–संस्थाले मानवीय सहयोगी क्षेत्रमा जस्तोसुकै परिस्थितिमा पनि काम गर्ने प्रण सहित दिवस मनाइएको छ । सन् २००३ को अगष्ट १९ मा इराकको बगदादस्थित संयुक्त राष्ट्रसङ्घमा भएको आक्रमणमा परी राष्ट्रसङ्घका २२ कर्मचारीको मृत्यु भएको थियो । सोही दिनको स्मरण गर्दै विश्वभर मानवता सहायताका लागि काम गर्दै आएकालाई प्ररेणा मिलोस् भन्ने उद्दश्यले राष्ट्रसङ्घले यो दिवस मनाउन सुरु गरेको हो । उक्त घटनाको २० वर्षपछि संयुक्त राष्ट्रसङ्घले विश्वभरका दुई सय ५० अर्बौं मानिसलाई सहयोग गर्ने लक्ष्यसहित काम गरिरहेको जनाएको छ । मानव अधिकारका लागि गर्ने प्रयाससँगै सङ्घले सामना गर्नुपर्ने चुनौती समेत बढेको छ । बढ्दो भूराजनीतिक तनाव, अन्तर्राष्ट्रिय मानव अधिकारसँग सम्बन्धित कानुनको बेवास्ता र जानाजानी हुने आक्रमणले मानव अधिकारको विषयमा चुनौती थपेको हो । मानव अधिकारको सम्मान, संरक्षण तथा संवद्ध्र्रन गर्नका लागि मानव अधिकार रक्षकको भूमिका महत्वपूर्ण हुने राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगका अनुसार मानव अधिकार रक्षकको पहिचान, सुरक्षा, सञ्जालीकरण तथा उनीहरुको अधिकारको संरक्षण, सम्वद्र्धनलगायतका विषयमा राज्यबाट धेरै काम हुन सकेको छैन । आयोगको मानव अधिकार रक्षक सम्मेलन प्रतिवेदन, २०७९ अनुसार मानव अधिकार रक्षकले धम्की, आक्रमण, दबाब तथा मानसिक तनाव समेतको सामना गर्नुपरेको उल्लेख गरिएको छ । उक्त प्रतिवेदनले विभिन्न किसिमका समस्या, जोखिम तथा चुनौतीको सामना गर्नुपरेको विषयलाई सम्बोधन गर्न नीतिगत तथा संयन्त्रगत व्यवस्थाको आवश्यकतालाई औँल्याएको छ ।





