सुनसरी । सुनसरी जिल्लामा धरान र इटहरी उपमहानगरपालिका सहित १२ स्थानिय तह छ । स्थानीय तहको चुनाव हुनुभन्दा पहिला उम्मेदवारहरुले आ-आफनो तहमा विकास निर्माणको कार्यलाई पहिलो प्राथमिकतामा राखेका थिए । तर चुनावमा निर्वाचित भएपछि विकास निर्माण भन्दा बढी आफनो विलासी जीवन उकास्न तर्फ केन्द्रित भए ।
आफनो सुविधाको लागि जनताकै करबाट करौडोंको सवारी साधन खरीद गरी जनताको विकास भन्दा आफ्नो विकास तर्फ बढी ध्यान दिए । चुनावमा गरिएको बाचा र प्रतिबद्धताहरु अधुरो नै राखिएको छ । कतिपय नेताहरुले करिब ५ बर्ष सिकाई र भोगाई मै वितेको सार्वजनिक कार्यक्रममा भाषण दिन पछि पनि हटेका छैनन् । कतिपय पालिकामा भागभण्डा नमिलेपछि जनताको विकास निर्माणको काम रोकिएको छ ।
१२ वटा तह मध्ये सुनसरीको दक्षिणी भेगमा रहेको हरिनगर गाउँपालिकाले भने विकास निर्माणको काममा फड्को मार्दै गएको छ । गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले आफनो सुविधा भन्दा जनताको सुविधामा बढी ध्यान केन्द्रित गरेर काम गर्दै गएपछि स्थानीय स्तरमा उनको लोकप्रियता बढ्दै गएको छ । स्थानीय स्तरमा जनमैत्री काम गरेकै कारण दोस्रोपटक पुनः पालिका अध्यक्षमा निर्वाचित भएका हुन्
।
हाल सम्म उनी गाउँपालिकाबाट विलासी जीवन बिताउनको लागि कुनै सुविधा लिएका छैनन् । एउटा गाडी नै चढेर उनी कार्यालय र जनतामाझ आउँने जाने गरेका छन । अत्यन्तै दुर्गम क्षेत्र मानिदै आएको हरिनगर गाउँपालिका अहिले सुगम बन्दै गएको छ । स्थानीय तहको निर्वाचनमा अध्यक्षमा गफार अन्सारी निर्वाचित भएपछि हरिनगर गाउँपालिकाले विकासमा फड्को मारेको छ ।
वर्षातमा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने अवस्थाका सडक कालोपत्रे र मर्मत भएका छन् । गाउँपालिका भित्रका सडकहरु कालोपत्रे, पीसीसी र ग्राभेल गर्ने कार्यसँगै पालिकाको मुहार नै फेरिएको छ । गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको यतिबेला स्तरोन्नति गर्ने काम साताै वडामा भइरहेको छ । यहाँका सबै वडामा अहिले सडकहरु बनेका छन् ।
विकासमा पछि परेको हरिनगर गाउँपालिका विस्तारै जिल्ला कै नमुना पालिका बनेको छ । कोशी प्रदेशमा सबैभन्दा बढी सडक कालोपत्रे र सडक निर्माण गर्ने पालिका हरिनगर गाउँपालिका भएको छ । हरिनगर गाउँपालिकाको साविक भुटाहा, घुस्की, बसन्तपुर गाविसमा बाटो नहुदा एम्बुलेन्स घरसम्म पुग्न सकिरहेका थिएनन् । घरमा आगो लाग्दा दमकल पुग्न सक्दैनथे । अध्यक्षमा अन्सारी निर्वाचित भएर आएपछि पुर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरेका थिए । वर्तमान समयमा अहिले प्रत्येक वडामा घरघरमा सजिलै गाडी पुग्ने गरेका छन् । पालिकाको प्रमुख सडकहरु कालोपत्रे भएका छन् भने सहायक सडकहरु कालोपत्रे हुने क्रममा छन् । कोशी प्रदेशमा सबैभन्दा बढी कालोपत्रे गरेको भन्दै प्रदेश सरकारले हाजी गफार अन्सारीलाई सम्मान समेत गरेको थियो ।
यसैगरी पालिका भित्र तत्कालीन भुटाहा-बसन्तपुर गाविस जाेड्ने सिमानाको खोला पुल नहुदा आवतजावतमा धेरै कठिन हुने गरेको थियो । पालिका अध्यक्षमा निर्वाचित भएको पहिलो कार्यकालमा पुल निर्माण गरेको थियो । यस सँग हरिनगर गाउँपालिका वडा-२ स्थित साविक भुटाहा गाविसको वडा-३ र वडा-५ जोड्ने सुनसरी मरिया खोलामा पुल निर्माण गरेका छन् । उक्त ठाँउमा पुल नहुदा स्थानीयहरुले आवतजावतमा समस्या भोग्ने गरेका थिए । जिल्लाको सदरमुकाम सँग जोड्ने एकमात्रै सडक भएकोले स्थानीयहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य थिए । अध्यक्षमा हाजी गफार अन्सारी निर्वाचित भए लगत्तै पुल निर्माण कामको थालनी गरेका थिए । उक्त पुलको अहिले निर्माण काम सम्पन्न भएको छ ।
यसरी गाउँपालिकाको प्रत्येक वडामा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरेर नागरिकहरुको निशुल्क उपचार गर्ने वातावरणको व्यवस्था मिलाएका छन् । तत्कालीन गाविस घुस्की, बसन्तपुर, भुटाहा, गाैतमपुर र हरिनगरा लगायतका ठाँउमा स्वास्थ्य चोैकीको स्थापना गरेर २४ ओैँ घन्टा सेवा उपलब्ध गराएको छ ।
शिक्षा क्षेत्रलाई मध्यनजर गर्दै पालिकाले सम्पुर्ण विद्यालयहरु आवश्यकता बमोजिमको शिक्षकको व्यवस्था मिलाएको छ । पालिका भित्र उच्च शिक्षाको अनुमति लिएर क्याम्पसहरु संचालनमा ल्याएको छ । विद्यार्थीहरुलाई जिल्लाको सदरमुकाम इनरुवा लगायतका क्षेत्रमा अध्ययन गर्न जादा समस्या हुने गरेकोले पालिका क्षेत्र भित्र क्याम्पसको व्यवस्थापान गरेर संचालनमा ल्याएको छ ।





