रविन्द्र कुमार यादव ,बिराटनगर । सनुसरीको गढी गाउँपालिकामा विश्व खाद्य दिवसको अवसरमा कार्यक्रम गरिएको छ । प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइने कार्यक्रम अन्तरगत सप्ताहव्यापी कार्यक्रममा विहीबार प्रभातफेरी गरिएको छ । गढी गाउँपालिकामा ४३ औं विश्व खाद्य दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको हो ।
गढी गाउँपालिकाको आयोजानामा जीवन र खाध्यको आधार हो पानी भन्ने मुल नाराका साथ ४३ औं विश्व खाद्य दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष अनिताकुमारी साहले जानकारी दिनुभयो । साहका अनुसार प्रभातफेरीमा जल संरक्षण र सदुपयोग नै जीवनको आधार सबैको लागि आहार, दिगो कृषि र पोषिलो आहार सहितको प्लेकार्ड लिएर र्याली गरिएको थियो । प्रभातफेरी कार्यक्रममा गढी गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख लेखा अधिकृत दिलबहादुर खड्का, लेखाका बाबुराम पोडेल, जनप्रतिनिधिहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । विश्व खाद्य दिवस संयुक्त राष्ट्र सङ्घको विशिष्टिकृत निकाय खाद्य तथा कृषि सङ्गठनको आह्वानमा मनाइन्छ । उक्त सङ्गठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६मा खाद्य दिवस मनाइने गरेको हो । संघको सन् १९४५ अक्टोबर १६मा क्यानडामा स्थापना भएको र पछि सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको बीसौँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन पारी खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेअनुरूप सन् १९८१ देखि विविध कार्यक्रमहरूका साथ विश्वभरि यो दिवस मनाइँदै आएको छ ।





