सुनसरी । संसारभर छरिएर रहेका आप्रवासी कामदारहरूका सम्मानमा आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०८१ मनाइएको छ। यो दिवस आप्रवासीहरूले गरेको मेहनत, संघर्ष र त्यागको कदर गर्दै मनाइने गरिएको छ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र कोशी प्रदेश महासचिव दिपेन्द्र कुमार यादवले यस अवसरमा शुभकामना सन्देश जारी गर्दै आप्रवासनलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक बनाउन सबै पक्षको सहकार्य अनिवार्य रहेको बताए।
“तपाईँहरूको मेहनतले हाम्रो समाजलाई नयाँ दिशा र प्रेरणा दिएको छ। हामीले आप्रवासीका हक र सुरक्षाका लागि सधैं तत्पर रहनुपर्छ,” उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
यस दिवसका अवसरमा कोशी प्रदेशका विभिन्न स्थानमा सचेतना कार्यक्रम, गोष्ठी र छलफल कार्यक्रम आयोजना गरिएका छन्। आप्रवासीहरूका हकहित संरक्षण र सुरक्षित आप्रवासनको महत्वबारे जनचेतना जगाउन केन्द्रले विशेष पहलहरू गर्दै आइरहेको जनाएको छ।
नेपालबाट विदेश गएका लाखौं आप्रवासी कामदारले आफ्नो परिश्रम र संघर्षमार्फत देशलाई ठूलो आर्थिक योगदान दिइरहेका छन्। तिनीहरूको योगदानको सम्मान र सुरक्षा सुनिश्चित गर्दै सबै पक्ष मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
आप्रवासी दिवस २०८१ लाई सफल र अर्थपूर्ण बनाउन विभिन्न संघसंस्थाहरूले विशेष कार्यक्रमहरू आयोजना गरेका छन्।





