काठमाडौं । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार २१३ जनाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२४ का अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार उक्त विवरण सार्वजनिक गरेको हो। मन्त्रालयले डिसेम्बर १६ देखि २२ सम्म साताव्यापी कार्यक्रम गरी दिवस मनाइरहेको छ।
बोर्ड स्थापनापछिको अवधिमा गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर फर्किएका ३४४० जनालाई वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता प्रदान गरिएको छ। मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले विभिन्न १११ मुलुकमा नेपाली नागरिक रोजगारीका लागि गएका तथ्यांक प्रस्तुत गर्नुभयो।
अन्तर्राष्ट्रिय आप्रवासन संगठनको प्रतिवेदनअनुसार विश्वभर २८.१ करोड आप्रवासी रहेका छन्, जसमा १६.९ करोड आप्रवासी श्रमिक छन्। संयुक्त राष्ट्रसङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र उनीहरूका परिवारको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनलाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाइन्छ।
नेपाल राष्ट्र बैंकका अनुसार आव २०८०/८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ। यो रकमले घरपरिवार सञ्चालन, गरिबी न्यूनीकरण र आर्थिक जोखिम कम गर्न ठूलो भूमिका खेलेको समितिले जनाएको छ।
श्रम मन्त्रालयले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। सीपसहितको रोजगारीको सुनिश्चितता, निःशुल्क तालिम, रिटर्नी उद्यमशीलता कार्यक्रम, र कानुनी सुधारजस्ता प्रयासहरू अघि बढाइएको छ।
मन्त्रालयका उपसचिव वसन्त बोहराले आप्रवासी नीति परिमार्जन चरणमा रहेको जानकारी दिनुभएको छ। कमाइलाई आयआर्जनमा लगाउन प्रोत्साहन गर्ने उपायहरू आवश्यक रहेको र यस्ता दिवसले चेतना अभिवृद्धिमा सहयोग गर्ने उपसचिव महेश पराजुलीले बताउनुभएको छ।
वैदेशिक रोजगारीमा जान चाहने नागरिकका लागि राहदानी, तालिम, र कागजात तयार पार्न स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र अन्य सरकारी निकायको भूमिका महत्त्वपूर्ण छ। सचिव निरौलाले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म विशेष महत्त्व राख्ने बताउनुभएको छ।





