विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले भर्चुअल माध्यमद्वारा मातहतका प्रहरी प्रमुखहरुलाई आवश्यक निर्देशन दिनुभएको छ। पौष ५ गते दिउँसो आयोजित भर्चुअल बैठकमा जिल्ला प्रहरी प्रमुखहरु, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, विशेष सुरक्षा गण दुहवी, प्रदेश प्रहरी गण रानी, प्रदेश प्रहरी अस्पताल सुनसरी तथा तराई जिल्लाका इलाका प्रहरी कार्यालय (क) स्तरसम्मका प्रमुखहरुको सहभागिता रहेको थियो।
निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले कार्य सम्पादन सम्झौताका आधारमा कार्यगर्न र प्रगति विवरण समयमै पेश गर्न निर्देशन दिनुभयो। उहाँले सवारी दुर्घटना, साइबर अपराध, लागुऔषध ओसारपसार, ठगी, चोरी, तस्करी र अन्य अपराध नियन्त्रणका लागि योजनाबद्ध रुपमा प्रहरी परिचालन गर्न जोड दिनुभयो।
उहाँले “सत्य, सेवा, सुरक्षणम्” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै प्रहरीको भूमिका समाजको मुटु जस्तै जीवन्त र गतिशील बनाउनु पर्नेमा जोड दिनुभयो। प्रहरी कर्मचारीहरुले अनुशासित, कर्तव्यनिष्ठ र त्रुटी रहित तवरले कार्य सम्पादन गर्नुपर्ने उहाँको निर्देशन थियो। साथै, आईपर्ने चुनौतीलाई जिम्मेवारीका रूपमा लिएर गुनासो रहित सेवामा समर्पित हुनुपर्नेमा पनि जोड दिनुभयो।
निर्देशन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अवि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमले प्रहरी प्रशासनलाई अझै प्रभावकारी र परिणाममुखी बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।






