इनरुवा, बैशाख २६ गते । सुनसरीमा स्थानीय तह निर्वाचनका लागि आइपुगेका सामग्री मतदान केन्द्रमा पठाउने तयारी भएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।
निर्वाचनका क्रममा आवश्यक पर्ने नङमा लगाउने मसी, स्ट्याम्प प्याड, लाहा, मैनबत्ती लगायतका विभिन्न सामग्री मतदान केन्द्रमा पठाउने तयारीमा रहेको प्रमुख निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।
वहाँका अनुसार जिल्लाका दुई उपमहानगरपालिका, चारवटै नगरपालिका र छ वटा गाउँपालिका सहित १२ स्थानीय तहका ५८१ मतदान केन्द्रमा पठाउन विभिन्न सामग्री विभाजन गरी पोका बनाउने काम सकिएको र पठाउने काम भईरहेको छ ।
निर्वाचनका लागि तयार पारिएको सामग्री टाढा मतदान केन्द्रमा सोमबार पठाइने छ भने नजिकका मतदान केन्द्रमा वैशाख २७ गते मंगलबार निर्वाचन सामग्री पठाइने पौडेलले बताउनुभयो ।
“मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी नियुक्त गर्ने र तालिम प्रदान गरी मतदान केन्द्रमा पठाउने तयारी भइरहेको छ’’, उहाँले भन्नुभयो, “मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सकिएको र अन्य कर्मचारी नियुक्ति गरेर ओरियण्टेशन गराई मतदान केन्द्रमा पठाउदैछौँ ।’’ बैशाख २७ गतेसम्म कार्यालय स्थापना गरी सूचना टाँस गर्नुपर्ने उहाँले बताउनुभयो । धेरै काम पूरा भइसकेको समेत जानकारी दिनुभयो । यसअघि नै विभिन्न स्थानका मतदान केन्द्रको अनुगमन गरिएको थप स्थानको अनुमगन पनि तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
यादवका अनुसार सुरक्षित र भयरहित तबरबाट सहज रूपमा मतदातालाई मतदान गर्ने वातावरण बनाउन सुरक्षा निकाय प्रमुखसहित विभिन्न स्थानमा अनुगमन गरिएको छ । निर्वाचनका लागि सबै मतदान केन्द्रको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुहुदै मूख्य निर्वाचन अधिकृत कैलास प्रसाद सुवेदीले मतपत्र र सामग्री सुरक्षित राख्ने स्थान निर्माण गरी सामग्री पठाउनुपर्ने भएकाले सुरक्षा निकायबाट अनुगमन भएको बताउनुभयो ।
मूख्य निर्वाचन अधिकृत कैलास प्रसाद सुवेदीले उम्मेदबारहरुलाई चुनाव चिन्ह प्रदान, मतदान अधिकृतलाई तालिम दिने काम भएको, मतदान केन्द्रमा मतदाताका लागि कुल पाँच लाख ७८ हजार मतपत्र आएको जानकारी दिनुभयो । मतपेटिका र मतपत्र सहितको आवश्यक सबै सामग्री सुरक्षित साथ पठाउने काम सुरु गरेको बताउनुभयो ।
उता सुनसरीमा पाँच लाख ३४ हजार ७६५ मतदानले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले जानकारी दिनुभयो । सुनसरीमा सबैभन्दा बढी मतदाता इटहरी उपमहानगरपालिकामा छ भने सबैभन्दा कम मतदाता बर्जु गाउँपालिकामा रहेको सूचना अधिकारी मिश्रले बताउनुभयो ।
सुनसरीको १२ पालिकामध्ये धरान नगरपालिकामा कूल एक लाख ३२४ मतदाता रहेका छन् । इटहरी उपमहानगरपालिका कूल एक लाख चार हजार ६२६ मतदाता रहेका छन् ।
इनरुवा नगरपालिकामा ४२ हजार ४४८ मतदाता, दुहबी नगरपालिकामा ३६ हजार ७३० मतदाता, बराहक्षेत्र नगरपालिकामा ६३ हजार ६०८ मतदाता, रामधुनी नगरपालिकामा ४१ हजार ४७८ मतदाता छन् । कोसी गाउँपालिकामा २६ हजार ४६६ मतदाता, गढी गाउँपालिकामा २३ हजार ८१७, देवानगञ्ज गाउँपालिकामा २३ हजार ५७८, बर्जु गाउँपालिकामा २२ हजार ४६७ मतदाता , भोक्राहा नरसिंह गाउँपालिकामा २४ हजार १०१,
हरिनगर गाउँपालिकामा २४ हजार ८२२ मतदाता रहेको सूचना अधिकारी मिश्रले बताउनुभयो ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा जिल्लामा १६६ मतदान स्थल र ५८१ मतदान केन्द्र रहेको जनाएको छ । धरानमा १०७, इटहरीमा १११, इनरुवामा ४७, दुहबीमा ४२, बराहक्षेत्रमा ६७, रामधुनीमा ४४, कोसीमा २९, गढीमा २७, देवानगञ्जमा २६, बर्जुमा २५, भोक्राहा नरसिंहमा २८ र हरिनगरमा २८ गरी कूल ५८१ मतदान केन्द्रबाट मतदान हुने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी मिश्रले बताउनुभयो ।