सुनसरी । सुनसरीको कोशि गाउँपालिका–०६ स्थित कटान क्षेत्रमा पूर्व–पश्चिम लोकमार्गमा शंकास्पद अवस्थामा बंगुरको मासु बरामद भएको छ। सशस्त्र प्रहरी बल, नेपालका प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोखरेलको कमाण्डमा रहेको टोलीले उक्त मासु बरामद गरेको हो।
सशस्त्र प्रहरीको ११ सदस्यीय टोलीले पूर्वबाट काठमाडौंतर्फ जाँदै गरेको रात्रीकालीन सवारी साधनमा चेकजाँच गर्ने क्रममा उक्त मासु फेला पारेको हो। चेकजाँचका क्रममा विज–विजक नदेखिएको करिब २५० किलोग्राम बंगुरको जस्तो देखिने काँचो मासु बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। मासुको बजार मूल्य करिब ७५ हजार रुपैयाँ रहेको अनुमान गरिएको छ।
सशस्त्र प्रहरीका अनुसार बरामद मासुलाई गुल्मको परिसरमा खाल्डो खनी सरोकारवाला निकायको रोहबरमा सडाउने विधिबाट नष्ट गरिएको छ। बिना प्रमाण र विज–विजक ल्याइएको मासु मानव स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्ने भएकाले नष्ट गरिएको जनाइएको छ।
सशस्त्र प्रहरी बलले चेकजाँच अभियानलाई निरन्तरता दिँदै अवैध गतिविधि नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको छ।





