धरान । जिल्ला सुनसरी, धरान उप-महानगरपालिका वडा नं. ११ स्थित गैरी गाउँमा लागू औषध विक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी जोरसखुवाको टोलीले पौष २० गते दिउँसो लागू औषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरी हवल्दार हेमराज सुवेदीको नेतृत्वमा खटिएको टोलीले ऐ.ऐ. बस्ने २८ वर्षीय बिनोद आचार्यलाई नियन्त्रणमा लिएको हो। आचार्यको घरको कोठा कानुन बमोजिम खानतलासी गर्दा लुकाइ छिपाई राखिएको लागू औषध ट्रामाडोल- ४०४ क्याप्सुल र नियन्त्रित औषधी स्पासमो- ९०० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका आचार्यलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको छ। प्रहरीले लागू औषध विक्री वितरणमा संलग्न व्यक्तिहरूविरुद्ध कडा कारवाही गर्ने बताएको छ।





