विराटनगर । कोशी पर्यटन वर्ष २०८२ को तयारीलाई तीव्रता दिन कोशी प्रदेश सरकार अन्तर्गत पर्यटन, वन तथा वातावरण मन्त्रालयले विशेष छलफल कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, मन्त्रालय सचिव विशाल घिमिरेसहित विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, पर्यटन व्यवसायी, होटल व्यवसायी, विज्ञ तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
छलफलमा कोशी प्रदेशलाई पर्यटनमैत्री क्षेत्रका रूपमा विकास गर्न आवश्यक नीतिगत सुधार, पूर्वाधार विस्तार, प्रवर्द्धनात्मक कार्यक्रम तथा स्थानीय तहसँगको सहकार्यबारे चर्चा गरिएको थियो। पर्यटन व्यवसायीहरूले कोशी प्रदेशमा साहसिक पर्यटन, धार्मिक पर्यटन, ग्रामीण पर्यटन तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै पर्यटन पूर्वाधार सुधार, प्रचार-प्रसार र लगानी आकर्षणका लागि विभिन्न योजनाहरू कार्यान्वयन गरिने जानकारी गराए। मन्त्री मण्डलले आगामी पर्यटन वर्षलाई सफल बनाउन निजी क्षेत्र, संघसंस्था र सरोकारवालासँगको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा सहभागीहरूले पर्यटन प्रवर्द्धनका लागि होटल तथा यातायात सुविधाको विकास, वातावरण संरक्षण, आधुनिक प्रविधिको प्रयोग तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा कोशी प्रदेशको ब्रान्डिङ गर्ने विषयमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
यो छलफलले कोशी पर्यटन वर्ष २०८२ लाई प्रभावकारी बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्यलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।





