इनरुवा । सुनसरी जिल्लाको इनरुवा नगरपालिका–९, बबियामा एक दम्पती आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्। मृतकहरू ३५ वर्षीय सुकदेव शर्मा र उनकी २३ वर्षीया पत्नी सवेता खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ९ बजेतिर स्थानीयले दम्पतीलाई फुसको घरभित्र मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले श्रीमान् सुकदेव शर्मा अर्धनग्न अवस्थामा झुन्डिएको र श्रीमती सवेता खातुन ओछ्यानमा मृत फेला परेको जानकारी दिएको छ।
सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार घटना शंकास्पद देखिएकाले विस्तृत अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानमा डिएसपी योगराज खतिवडाले श्रीमान्ले श्रीमतीको हत्या गरेर आफैं झुन्डिएको आशंका गरिएको बताए।
“घटनास्थलको अवस्थाले प्रारम्भिक रूपमा यस्तो देखाएको हो, तर हामीले सबै कोणबाट गहिरो अनुसन्धान गरिरहेका छौं,” डिएसपी खतिवडाले भने।
प्रहरीले घटनास्थलमा साडीको पासो देखिएको र सवेताको शरीरमा कुनै गम्भीर चोट नदेखिएको जानकारी दिएको छ। दुवै शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
यस घटनाले स्थानीय बासिन्दा स्तब्ध बनेका छन्। यद्यपि प्रहरी स्रोतले दम्पतीबीच पछिल्लो समय घरेलु विवाद भएको आशंका भए पनि यसबारे औपचारिक रूपमा केही भन्न बाँकी रहेको जनाएको छ।





