जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार ६ गते । सुनसरी सहित देशका विभिन्न क्षेत्रबाट धार्मिक तिर्थ यात्रा गर्न साउदी अरबको मक्का मदिनामा हजका लागि जाने नेपाली मुसलमानहरूको सोमबार बिदाई गरिएको छ । सरकारका प्रवत्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हजका लागि जाने नेपाली मुसलमानहरूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगी फुलमाला र खादा लगाई बिदा गर्नुभएको हो ।
आज साउदीतर्फ प्रस्थान गरेको पहिलो नेपाली टोलीमा सुनसरीको हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारी मियाँ सहित १०९ जना रहेका छन । चरण—चरण गरी मक्कामा हज (विशेष प्रकारको नमाज र प्रार्थना) गर्न नेपाली मुसलमानहरु साउदी अरब पुग्ने गर्दछन । देशैभरि छरिएर रहेका मुसलमान नेपालीहरूलाई जिल्लास्तरीय हज कमिटिले मक्का जानेहरूलाई सिफारिस गराएर पठाएपछि केन्द्रीय हज कमिटीले कोटा अनुसार यात्राको प्रबन्ध मिलाउने व्यवस्था छ ।
विमानस्थलमा सञ्चारमन्त्री सहित कांग्रेसका वरिष्ठ नेताहरु र केन्द्रिय नेता अबदुल सतार, नेपाल मुस्लिम संघका प्रदेश १ संयोजक डा. इसराईल मंसुरी, डा अवदुल अंसारी, हारुन अंसारीले पनि उहाँहरूलाई बिदाई गर्नुभएको थियो । हरेक वर्ष झैँ यो वर्ष पनि करीब पाँच सय १४ जना नेपाली मुसलमान मक्का पुग्नेछन् । जसमा पहिलो चरणमा सोमबार विहान सुनसरीका ७९ जना सहित कुल १०९ साउदी प्रस्थान गरेका छन् । यहाँका देशभरका ५१४ जना साउदी पुग्ने हज कमिटिले जनाएको छ ।
मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठुलो उपलब्धिको रुपमा लिने गरिन्छ । विश्वभरिका मुसलमान आफ्नो जीवनमा एकपल्ट मक्कामा गएर हज गर्ने चाहना राख्दछन् । साउदी अरेबियामा हरेक वर्षको अक्टोबर र नोभेम्बर महिनाको बीचमा विशेष दिन पारेर हज गर्ने गरिन्छ । हजका लागि विश्वभरिबाट मुसलमानहरू मक्का पुग्ने गर्दछन । सोमबार प्रस्थान गर्ने १०९जना नेपाली मुसलमानमा सुनसरी, मोरगं र झापाका रहेका छन् । मुस्लिम धर्मावलम्बीहरूलाई हज जीवनमा एक पटक जानै पर्ने तीर्थस्थल मानिन्छ । त्यसैले हज गर्न साउदी अरबमा जान सरकारले हरेक वर्ष रकम खर्च गर्छ ।
१, सरकारका प्रवत्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हजका लागि जाने नेपाली मुसलमानहरूलाई सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगी फुलमाला र खादा लगाई बिदा गर्नुहुदै ।
तस्विर सौजन्य ः टोमराज मेहता





