कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरीले इस्लाम धर्मावलम्बीहरू लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई ईद-उल-फित्र पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले रमजान रोजा अर्थात् ईद-उल-फित्रको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी समुदायलाई विशेष रूपमा बधाई दिँदै सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको कामना गर्नुभएको छ।
सदस्य मन्सुरीले आफ्नो सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै यस पर्वले धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक ऐक्यबद्धता अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले विविधता नै नेपाली समाजको सुन्दर विशेषता रहेको उल्लेख गर्दै धार्मिक तथा सांस्कृतिक पर्वहरूले आपसी मेलमिलाप र भाइचारा प्रवर्द्धन गर्ने बताउनुभयो।
इस्लाम धर्मावलम्बी समुदायले एक महिनासम्म निराहार उपवास बसेर ईद-उल-फित्र पर्व मनाउने गर्छन्। रमजान महिना सम्पन्न भएपछि मनाइने यो पर्व प्रेम, दया, भाइचारा र एकताको प्रतीक मानिन्छ। यस अवसरमा, सदस्य मन्सुरीले देशभरका नागरिकहरूबीच सहिष्णुता, सम्मान र मेलमिलाप कायम रहोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।





