काठमाडौं । कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन कलाकार तथा चलचित्रकर्मीहरूले सक्रिय सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार कोशी प्रदेश पर्यटन वर्षको सचिवालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी फिल्मकर्मीहरूले पर्यटन प्रवर्द्धनका लागि अझै पनि सरकारी तहबाट सुधार गर्नुपर्ने धेरै विषय बाँकी रहेको औंल्याएका छन् ।
चलचित्र निर्देशक मिलन चाम्सले कोशी प्रदेश चलचित्र छायांकनका लागि भाग्यमानी प्रदेश भएको उल्लेख गर्दै पर्यटकीय पूर्वाधार र व्यवस्थापनमा सुधार आवश्यक रहेको बताए । पर्यटकको पहिलो अनुभव एयरपोर्टबाटै सुरु हुने भएकाले त्यहीँबाट सुधार थाल्नुपर्ने उनको भनाइ थियो ।
“अब व्यक्तिगत समस्या होइन, समाजका समस्या लिएर मन्त्रीज्यूसम्म पुग्नुपर्छ,” उनले भने, “कोशी प्रदेशमा सुटिङ गर्न आउने चलचित्रकर्मीहरूका लागि विशेष सुविधा र सहुलियतसहितको प्याकेज तयार गर्न जरुरी छ।
उनले पछिल्लो एक वर्ष कोशी प्रदेशका लागि सफल रहेको बताउँदै उनको सुइटर, परान र अन्जिला लगायतका चलचित्रहरू यही प्रदेशमा छायांकन भई सफल भएको उल्लेख गरे ।
वरिष्ठ कलाकार शिव श्रेष्ठले कोशी प्रदेशमा चलचित्र छायांकन गर्न चलचित्र विकास बोर्डले अझ प्रभावकारी रूपमा सहजीकरण गर्नुपर्ने बताए । उनले सहज वातावरण बनेमा प्रदेशमा फिल्म सुटिङको आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रले पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने बताउँदै विश्वभरका सिनेकर्मीहरूलाई आकर्षित गर्नुपर्ने आवश्यकता औंल्याए ।
पर्यटकीय गन्तव्यको ब्रान्डिङ आज गरियो भने परिणाम तुरुन्त नदेखिए पनि भविष्यमा यसले सकारात्मक प्रभाव दिन्छ,” उनले भने । सिनेमा हलहरूमा पर्यटकीय गन्तव्यहरूको प्रचार गरिए विकास बोर्डले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि उनले जनाए ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले प्रदेशमा पर्यटनको अथाह सम्भावना हुँदाहुँदै पनि पर्याप्त प्रचार हुन नसक्दा ओझेलमा परेको बताए । उनले कोशी पर्यटन वर्ष २०८२ मार्फत प्रदेशको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।





