काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै हुनुहुन्छ ।
कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनुहुनेछ ।
प्रधानमन्त्री प्रचण्डले संयुक्त अरब इमिरेट्सको ५२औँ सङ्घीय दिवस समारोह र ‘जायेद सस्टेनाबिलिटी प्राइज अवार्ड समारोह’मा पनि सहभागी हुने कार्यक्रम छ । उहाँले डिसेम्बर २ तारिखमा जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई प्रवर्द्धन गर्न ‘हिमालको आह्वानः जलवायु संकटबाट हामीलाई कसले बचाउँछ ?’ शीर्षकको उच्चस्तरीय कार्यक्रम आयोजना गर्दै हुनेछ ।
प्रधानमन्त्री प्रचण्डले उच्च–स्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख/सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने तालिका रहेको मन्त्रालयले जनाएको छ । उहाँले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी छोरी गङ्गा दाहाल, वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरु सहभागी हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी डिसेम्बर ३ तारिखमा स्वदेश फर्कनुहुनेछ । रासस





