इनरुवा, असार १५ गते । सुनसरीका अधिकाशं स्थानीय तहले लगातार वर्षा भएपछि बाढी र डुवानलाई ध्यानमा राखी शैक्षिक संस्था बन्द गरिएको छ । जिल्ला सदरमुकाम इनरुवाका शैक्षिक संस्थाहरु अनिश्चितकालका बन्द गरिएको छ भने भोक्राहा नरसिंह गाउँपालिकाले बुधबारदेखि तीन दिनसम्म र इटहरी उपमहानगरपालिकाले पनि बुधबारदेखि विद्यालय बन्द गराएको हो ।
बढी विद्यालयमा पानी पसेको र केही ठाउँमा विधार्थीलाई आवतजानतमा समस्या तथा अझै बाढी आएको खण्डमा विस्थापितहरुलाई राख्नुपर्ने भएकाले बन्द गरिएको छ । बाढीबाट विस्थापितलाई राख्ने ठाउँ नहुँदा स्थानीय तहहरुका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरिएको जनाएको छछ । इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले आकस्मिक बैठक बसेर वर्षाले विस्थापितहरूलाई विद्यालयमा आश्रय दिने निर्णय गरिएको बताउनुभयो । अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १४ गतेदेखी नै अर्को सूचना नआएसम्मका लागि विद्यालयहरु बन्द गरिएको भण्डारीले बताउनुभयो । उता भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्खर आजादले पनि असार १५ गते बुधबार देखि १७ गतेसम्म सबै सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उता इटहरीका विद्यालय पनि बुधबारदेखि १७ गते सम्मका लागि बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखाले जनाएको छ ।
उता तीनदिनदेखीको अबिरल बर्षापछी सुनसरी सदरमुकाम इनरुवाको अधिकाशं क्षेत्र डुवानमा परेको छ । इनरुवाको वडा नम्बर ३, ४, ८, ९ र १० नम्बर वडाको सुनसरी खोला छेउका बस्तीहरु डुवानमा परेको छ । त्यसमध्ये इनरुवा ८ का ३० परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । उता जिल्लामा धेरै ठाउँ डुवानमा परेको र गडन तथा सुनसरी खोलामा कटान तिब्र पारेको छ । यहाँका स्थानीय सुनसरी, गडन, धन उष्णा, बुढी र मरिया खोलामा आएको बाढीले नदी आसपासमा बसोबास गर्नेहरुलाई प्रभावित पारेको छ ।