जनकपुर ।
बेरोजगार भएर घरमै रहेका सर्लाहीकी रुकमनी चौधरीका छोरा वैदेशिक रोजगारीमा जान चाहन्थे । रुकमनी र उनका श्रीमान रामकैलाश चौधरीले ४ वर्ष पहिले श्याम प्रदेशी (श्यामकरण साह) को घरमा गए र साढे ४ लाख रुपैयाँ ऋण मागे ।
प्रदेशीले उनीहरुलाई नागरिकता छाडेर जान र २/३ दिन पछि आउन निर्देशन दिए । प्रदेशीले भनेको दिन जाँदा उनले तमसुकमा सही छाप गराए ।
उनीहरुले ‘कागजमा के लेखिएको छ’ भनी सोधे । जवाफमा प्रदेशीले ‘तिमीहरुले लिएको पैसाको बारेमा लेखिएको छ’ भन्दै कागज आफ्नो साथमा राखे र रकम दिए ।
कतार पुगेका चौधरी दम्पतीका छोराले हरेक महिना २२ हजार ५ सय रुपैयाँका दरले २० महिनासम्म ४ लाख ५० हजार रुपैयाँ बुझाए । अनि ५० हजार रुपैयाँका दरले ६ पटकमा थप ३ लाख बुझाए । हालसम्म उनीहरुले श्याम प्रदेशीलाई साढे ७ लाख रुपैयाँ बुझाइसकेका थिए ।
अब उनीहरुले प्रदेशीसँग पैसा लिँदा राखेको कागज फिर्ता माग्न थाले । उनले ‘अर्को दिन आउनु’ भनी चौधरी दम्पतीलाई फर्काइदिए । ६ भदौ २०७६ मा कागज फिर्ता माग्दा प्रदेशीले उनीहरुलाई ५६ हजार ५ सय रुपैयाँमात्रै बुझाएको र साँवा व्याजसहित ३६ लाख रुपैंयाँ बाँकी रहेको बताए । रुकमनीले भनिन्, ‘तपाईंले दिएको पैसा पटक पटक गरी चुक्ता गरी सकेको छौं ।’
जवाफमा श्याम प्रदेशीले भने, ‘तपाईहरुले १२ लाख छुट्टाछुटै ३ वटा तमसुक कागज बनाउनु भएको छ । पैसा तिर्नुभएको छैन ।’ त्यसपछि चौधरी दम्पतीले आफूहरु ठगिएको महसुस गरे । अनि आफूहरु निरक्षर भएको फाइदा साहुले उठाएको भनी ठगी र सम्पत्ति शुद्धीकरण गरेको आरोपमा प्रहरीमा उजुरी दिए । उनीहरुले प्रहरीलाई बताए अनुसार, ऋण लिने बेलामा तयार पारिएको कागजातबारे उनीहरुलाई थाहै थिएन ।
योगनारायण धामी अर्का त्यस्तै पीडित हुन् । उनले २०५६ सालमा ४ कट्ठा १० धुर जग्गा श्याम प्रदेशीका नाममा पास गरेर २ लाख रुपैयाँ ऋण लिए र तिरे । पछि फेरि ऋण माग्न जाँदा योगनारायणको नाममा रहेको जग्गा आफ्नी छोरी इला र श्रीमती मञ्जुदेवीको नाममा पास गर्न लगाए ।
बाबु बिरामी भएका कारण २ लाख ७० हजार रुपैयाँ ऋण लिएका योगनारायणले पटकपटक गरी ६ लाख रुपैयाँ तिरिसकेका छन् । तर, श्यामले जग्गा फिर्ता दिएनन्, बरु अर्कैको नाममा पास गरे ।
पुरुषोत्तम कुमार मण्डलको अवस्था पनि उस्तै छ । आफ्ना दाई शिविन्द्रकुमार मण्डललाई अध्ययनका लागि भारतको बैंगलोर पठाउन पुरुषोत्तमलाई ४ लाख रुपैयाँ ऋण चाहिएको थियो ।
ऋण मागेपछि जवाफमा श्यामले सोझै भने, ‘रकम दिन्छु, तर सो वापत तपाईले कपाली तमसुक कागज र जग्गा समेत मेरो नाममा पास गर्नुपर्छ । साँवा र व्याज समेत चुक्ता गरिसकेपछि मात्र कागज र जग्गा फिर्ता गरिदिन्छु ।’
पुरुषोत्तमका बाबु सहमत भए । श्याम प्रदेशीले १२/१२ लाख ऋण लिएको भनी दुईवटा तमसुक गराए, अनि १३ कट्ठा जग्गा छोरीका नाममा पास गरे । दुई वर्षको अवधिमा उनीहरुले साँवा र व्याज गरी ७ लाख ५८ हजार रुपैयाँ बुझाए ।
त्यसरी रकम बुझाएपछि प्रदेशीले घरबाट नक्कली तमसुक झिकेछन् र पुरुषोत्तमका बाबुको अगाडि च्यातेछन् । त्यसपछि पुरुषोत्तमको परिवारले जग्गा फिर्ता माग्न थाल्यो । जवाफमा प्रदेशीले ‘जग्गा मेरै नाममा रहेपनि केही फरक पर्दैन । पछि फेरि पैसा चाहिँदा दिन्छु’ भनी जवाफ दिए ।
प्रदेशीले आफ्नो नाममा ल्याएको जग्गा अर्कैलाई बेचिसकेको थाहा पाएपछि पुरुषोत्तमको परिवार विवाद गर्न गयो । त्यसपछि प्रदेशीले आफूले लुकाइ राखेको पुरानो तमसुक निकाले र जिल्ला अदालत सर्लाहीमा लेनदेनको मुद्दा हाले । केही सीप नलागेपछि पुरुषोत्तमको परिवारले ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरीमा जाहेरी दिएको हो ।





