विराटनगर
सुनसरीको हरिनगर प्रोत्साहन भत्ता, पोसाक भत्ता र भिटामिन ‘ए’ खुवाए बापतको भत्ता नपाएको भन्दै हरिनगर गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरूले गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् ।
पटक–पटक गाउँपालिकामा ध्यानाकर्षण गराउँदा समेत वेवास्ता गरेको भन्दै उनीहरूले कार्यालय घेराउ गरेका हुन । असार मसान्तसम्ममा आर्थिक वर्ष २०७८÷७९ को रकम पाउनु पर्नेमा गाउँपालिकाले अहिलेसम्म रकम उपलब्ध नगराएको उनीहरूको भनाई छ । गाउँपालिकामा ९० जना स्वास्थ्य स्वयंसेविका छन् । उनीहरू आफुले पाउनुपर्ने रकम नआएको भन्दै ९–१० पटक गाउँपालिकाको कार्यालय देखि राष्ट्रिय बाणिज्य बैंक धाइसकेका छन् । स्वयंसेविका भक्ति माया मेहता भन्छिन्, ‘गाउँपालिकामा जाँदा बैंकको कमजोरी देखाउँछन्, बैंकले गाउँपालिकाको कमजोरी ।
पटक पटक ध्यानाकर्षण गराउँदा समेत हाम्रो रकम उपलब्ध नभएपछि गाउँपालिका घेराउ गर्न पुगेका हौँ ।’ मेहताका अनुसार पोसाक भत्ता १० हजार, प्रोत्साहन भत्ता १२ हजार र भिटामिन ‘ए’ खुवाएको १६ सय गरेर एक जनाले २३ हजार ६ सय रकम पाउन बाँकी छ । जसमा ९० जनाले २१ लाख २४ हजार पाउन बाँकी छ ।
तर गाउँपालिकाले आलटाल गरिरहेको उनले बताइन् । ‘हामीले गाउँपालिका अध्यक्ष गफार अन्सारी, स्वास्थ्य संयोजक प्रकाश थापा मगर, प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर लगायतलाई बारम्बार ध्यानाकर्षण गराएका थियौँ’ मेहताले भनिन्, ‘कहिले असोजमा आउँछ भन्छन्, कहिले के भनेर टार्छन्, यति मात्र हैन गाउँपालिका अध्यक्ष, प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक लगायतले यो कुरा लिएर नआउन भन्दै हकार्ने समेत गरेको छ ।’
८ सय पाउनुपर्नेमा ३ सय मात्रै पाइयो
आर्थिक वर्ष २०७७÷७८ मा दुई पटक भिटामिन खुवाउने कार्यक्रम चल्यो ।
स्वास्थ्य स्वयंसेविका पुनम मेहता भन्छिन्, ‘बैशाख र कात्तिकमा दुई पटक भिटामिन खुवाइयो । तर कात्तिकमा दुई दिन भिटामिन खुवाएको भत्ता ३ सय मात्रै पाइयो । जब कि ८ सय पाउनुपर्ने हो । बैशाखको भने ८ सय नै पाइयो ।’ यो विषयमा गाउँपालिकामा बुझ्दा माथिबाटै कम बजेट आएका कारण यस्तो भएको भन्ने जवाफ पाइएको उनले बताइन् । गाउँपालिकासँग यसको प्रमाण खोज्दा पनि नदिएको अर्की स्वयंसेविका संगिता भगतले बताइन् ।
गाउँपालिकाका ९० जना स्वयंसेविकाले आव २०७७÷७८ को असारमा दुईदिन भिटामिन खुवाएको भत्ता ७२ हजार भाउनुपर्नेमा गाउँपालिकाले २७ हजार मात्र दियो । ४५ हजार भने गाउँपालिकाले नदिएको उनीहरूको भनाई छ । यस विषयमा स्वास्थ्य संयोजक थापा मगरले आठ सय नै दिएको बताए । तर उनले प्रमाण दिन सकेनन् । उनले भने, ‘मलाई आठ सय नै दिएजस्तो लाग्छ तर बजेट कम आएका कारण पनि यस्तो भएको हुनसक्छ ।’
भत्ता भदौसम्ममा उपलब्ध गराउँछौँ
आर्थिक वर्ष २०७८÷७९ को प्रोत्साहन, पोशाक र भिटामिन खुवाएको भत्ता भदौ सम्ममा उपलब्ध गराउने लेखा प्रमुख रञ्जित मेहताले जानकारी दिए । असार २३ गते राष्ट्रिय बाणिज्य बैंकमा चेक पठाए पनि साउन तीनमा चेक फिर्ता आएका कारण समस्या भएको उनले बताए । फेरी फर्म भरेर प्रमाणित गरेपछि रकम भुक्तानी हुने भएका कारण भदौमा उनीहरूले पाउने रकम उपलब्ध हुने उनले बताए ।
काममा चाप भएका कारण र बैंकले ढिलाई गरेका कारण समयमा रकम उपलब्ध गराउन नसकेको स्वास्थ्य संयोजक थापा मगरले बताए । स्वास्थ्य स्वयंसेविकाहरूले प्रतिब्यक्ति २३ हजार ६ सय पाउनुपर्ने बताउँदै आएका छन् ।
तर उनले भने १७ हजार ६ सयमा १ प्रतिशत कर काटिएर बाँकी रकम पाउने बताए । निर्देशिकामा ६ हजार मात्रै प्रोत्साहन भत्ता उल्लेख गरिएको छ, उनले भने, ‘हामीले जति उल्लेख छ, त्यति नै दिने हो । बाँकी हामीले कसरी दिने ? उहाँहरूले अन्य गाउँपालिकाले १२ हजार प्रोत्साहन भत्ता दियो भन्दै हुनुहुन्छ ।
त्यो गाउँपालिकाले नै थपिदिएको हो ।’ स्वास्थ्य सेवा विभागकी अधिकृत मेनुका मुक्तानका अनुसार प्रोत्साहन भत्ता १२ हजार नै पाउनुपर्ने हो । उनले भनिन्, ‘बजेट भाषण हुदाँ ६ हजार नै भएपनि पछि चैतमा ६ हजार थप गरेर १२ हजार बनाएको छ ।’ प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगरले जसरी भएपनि भदौ सम्ममा पाउने रकम उपलब्ध गराउने जानकारी दिए । श्रोत:- मोशिम अन्सारी फेसबुक बाट
नेपाल टाइम लाइन न्युज कार्यालयमा सम्पर्क गर्न तलको नम्बर सम्पर्क गर्नुहोला 👇





