सुनसरी सदरमुकाम इनरुवा ५ बलाहाको हातेमालो चौकमा झिगु नेवाः समाजको नेवा सामुदायिक भवन तथा पार्क निर्माण हुने भएको छ । झिगु नेवाः समाजले आफ्नो जातिय पहिचान झल्कने पार्क सहितको आकर्षक नेवा सामुदायिक भवनको बुधबार सिलान्यास भएको हो ।
इनरुवाको नेवारी संस्कृति झल्कने तीन तल्ला भवन निमार्ण गरिने भएको हो । प्रदेश १ का पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा (लिम्बू) ले भवनको सिलान्यास गर्दै १ नम्बर प्रदेशमै नमुना भवन बन्ने भन्दै यस क्षेत्रका नेवारहरुको एकता, सद्भाव दर्शाउने काम भएको बताउनुभयो ।

प्रमुख अथिति लिम्बुले प्रदेश सरकारको २५ लाख बजेटबाट काम सुरु हुने भएको र थप सहयोग गर्न तयार रहेको बताउनुभयो । समाजका लालबहादुर श्रेष्ठका अनुसार कुल दुई करोड ९० लाख माथिको बजेटमा सात कठ्ठा क्षेत्रफल रहेको जग्गामा काम सुरु हुने भएको छ ।
सिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य तथा नेपाली काग्रेंस संसदिय दलका नेता राजिव कोईराला, इनरुवा नगर प्रमुख केदार भण्डारी, उपप्रमुख विनिता कुमारी मेहता सहितकाहरुले नेपालमा नेवार जातीको संस्कृति, सभ्यता सबैभन्दा महत्वपुर्ण रहेको र उनीहरुको सम्मानका लागि सामूदायिक भवन बन्ने भएको बताएका थिए । नेपालमा चल्ने जात्रा, खानपिन, पुजा, धार्मिक ऐतिहासिक संरचना नै विदेशी पर्यटकहरुको आकर्षकको केन्द्र हुने गरेकाले पार्क पनि निर्माण हुने दाबी समाजको छ ।
सिलान्यास कार्यक्रम झिगु नेवाः समाज इनरुवाका अध्यक्ष भुपाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो ।





