विराटनगर । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाले यस वर्ष पनि किसानहरूको सिंचाइ समस्या समाधान गर्न ठुलो कदम चालेको छ। गाउँपालिकाले नि:शुल्क बोरिंग वितरण र ५० प्रतिशत अनुदानमा विद्युतीय मोटर उपलब्ध गराउने कार्यक्रम ल्याएको छ। यस कार्यक्रमबाट करिब ५ सय किसानले प्रत्यक्ष लाभ लिनेछन्।
गाउँपालिकाले यसअघि पनि सिंचाइका लागि विशेष पहल गरेको थियो। गत वर्ष झन्डै ५ सय किसानले सुविधा प्राप्त गरी आफ्नो खेतीलाई सहज बनाएका थिए। यस वर्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउन योजना बनाइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले किसानहरूको समस्या समाधानलाई आफ्नो पहिलो प्राथमिकता रहेको बताए। उनले भने, “हामी किसानहरूको उत्पादन वृद्धि र आर्थिक अवस्था सुधार गर्न प्रतिबद्ध छौं। यस वर्ष पनि झन्डै ५ सय किसानलाई यो सुविधा प्रदान गर्नेछौं। यो कदमले किसानहरूको जीवनस्तर सुधार्न ठुलो योगदान दिनेछ।”
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले यस कार्यक्रमले सिंचाइको समस्याबाट मुक्त गराउने र किसानहरूलाई आत्मनिर्भर बनाउन मद्दत गर्ने बताए। उनले भने, “सिंचाइको समस्या समाधान गर्न यो कार्यक्रम निकै प्रभावकारी भएको छ। आगामी वर्ष पनि यसलाई निरन्तरता दिने हाम्रो योजना छ।”
गाउँपालिकाले ८ वटै वडाका किसानलाई यो सुविधा पुर्याउने विशेष व्यवस्था गरेको छ। यसले हरेक किसानलाई सुलभ रूपमा सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।
स्थानीय किसानहरूले गाउँपालिकाको यो पहललाई स्वागत गरेका छन्। स्थानीय किसान रामप्रसाद यादवले भने, “सिंचाइ सुविधाले हाम्रो उत्पादनमा वृद्धि गर्न सहयोग पुगेको छ। यस्तो कार्यक्रम निरन्तर भइरहने हो भने हामी आर्थिक रूपमा अझ बलियो बन्न सक्छौं।”
गाउँपालिकाले कृषिमा आत्मनिर्भरता बढाउन दीर्घकालीन योजना बनाएको छ। यस योजनामा सिंचाइका अतिरिक्त गुणस्तरीय बीउ-बिजन, मल, र आधुनिक कृषि प्रविधि उपलब्ध गराउने लक्ष्य पनि छ।
गाउँपालिकाका कृषि शाखाका अनुसार, किसानहरूले सिंचाइ सुविधाका लागि आवश्यक प्रक्रिया पूरा गरेपछि छिट्टै मोटर र बोरिंगको सेवा पाउनेछन्। यसले कृषकहरूलाई समयमै खेती गर्ने अवसर प्रदान गर्नेछ।
गाउँपालिकाले किसानहरूको हितमा लगातार काम गरिरहेकोले भाेक्राहा नरसिंह “किसानको साथी”को रूपमा परिचित भइरहेको छ।





