रविन्द्र यादव, इनरुवा । सुनसरीको भोकाहा नरसिंह गाउँपालिका गाउँ कार्यपालिकाको १७औं हिउँदे अधिवेशन सोमबार औपचारिक रुपमा सुरु भएको छ। गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँवको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको हो।
उद्घाटन समारोहमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, अध्यक्षता उपाध्यक्ष सुनिता कुमारी उराँव, विशिष्ट अतिथि नेपाल सरकारका उपसचिव सुवर्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेको उपस्थिति रहेको थियो। यसैगरी, गाउँसभा सदस्य, कार्यपालिका सदस्य, वडा सदस्यहरू, कर्मचारी, पत्रकार, र सुरक्षाकर्मीहरूको उपस्थिति पनि देखिएको थियो।
अधिवेशनको पहिलो दिन गाउँपालिकाका सेवा निवृत्त कर्मचारी, अन्तर्राष्ट्रिय खाे-खाे काेच कपिलदेव यादव, र शिक्षकहरूलाई सम्मान गरिएको छ। उनीहरूको समर्पण र योगदानको कदर गर्दै विदाइ गरिएको हो। सम्मानित व्यक्तिहरूले आफ्नो अनुभव बाँड्दै आगामी पुस्ताका लागि सकारात्मक योगदान दिने प्रतिबद्धता जनाएका थिए।
अधिवेशनको पहिलो दिनमा आगामी वर्षका प्रमुख योजनाहरू, बजेट, विकासका कार्यहरू, र जनताको समस्या समाधानका उपायहरूमा छलफल गरियो। यस अधिवेशनमा शिक्षा, स्वास्थ्य, संरचनात्मक विकास, र बेरोजगारी घटाउने योजनाहरूलाई प्राथमिकता दिइने निर्णय गरिएको छ।
गाउँपालिकाले नारी सशक्तिकरण, शैक्षिक सुधार, र युवाका लागि रोजगारमूलक कार्यक्रमहरू सञ्चालन गर्न विशेष योजना ल्याउने तयारी गरेको छ। बालबालिकाहरूको भविष्य सुनिश्चित गर्न विभिन्न नीतिहरू तयार पारिने बताइएको छ।
गाउँपालिकाका सूचना अधिकृत सन्देश तिम्सिनाका अनुसार, सोमबारको बन्दसत्रमा छलफल गरिएका विषयहरूमाथि निर्णय लिइनेछ। अधिवेशन मंगलबार औपचारिक रुपमा समापन गरिनेछ।
यस अधिवेशनले गाउँपालिकाको समग्र प्रगति र स्थानीय तहमा प्रभावकारी योजना कार्यान्वयनको दिशामा महत्वपूर्ण मार्गचित्र तयार गर्ने विश्वास गरिएको छ।