कनकासुन्दरी गाउँपालिका–३ गौरी गाउँस्थित नवदुर्गा आधारभुत विद्यालयको भवन ०७८ माघ ९ गते हिमपातले भत्किएपछि पुर्ननिर्माण नहुँदा बालबालिकाको पठनपाठन प्रभावित भएको छ । भत्किएको भवन मर्मत तथा पुर्ननिर्माण नभएपछि पठनपाठन प्रभावित भएको हो ।
विद्यालयमा दुई कोठे तीन ओटा भवन छन् । तर, यी भवन यहाँको लागि पर्याप्त छैनन् । भएका भवन समेत निकै जीर्ण र बस्न सकिने छैनन् । एउटा भवन गएको ०७८ माघ ९ गते हिमपातले भत्कियो । कक्षा पाँचसम्म अध्ययन हुने विद्यालयमा कक्षा कोठा प्रयाप्त नहुँदा समस्या भएको छ । ६० जना विद्यार्थी विद्यालयमा अध्ययनरत छन् ।
विद्यार्थीलाई बस्नको लागि कक्षाकोठा नभएर शैक्षिक सामग्रीको प्रयोग गरेर पठनपाठन गर्न कठिनाइ भएको प्रद्यानाध्यापक हरिबहादुर बुढाले बताउनु भयो । उहाँले भन्नुभयोे–‘विद्यार्थीको गुणस्तर र सिकाई उपलब्धिमा प्रत्यक्ष असर परेको छ । विद्यालयमा तीन वर्षदेखि १२ वर्षसम्मका विद्यार्थी अध्ययनरत छन् । विद्यालयको संरक्षणमा न स्थानीय सरकारको ध्यान गएको छ नत यहाँका अभिभावकको नै ! सरोकारवाला निकाय सबै मुकदर्शक बनेका छन् ।’
कक्षा पाँचमा अध्ययनरत छात्रा मनिषा बुढाले भन्नुभयो–‘हामीलाई कक्षा कोठाको अभाव छ । चौरमा बसेको बेला घामले निकै पोल्छ । वर्षा भएको बेला भिजिन्छ । खुला आकाशमा हावा चलेर राम्रोसँग पढ्ने वातावरण नै छैन । यो विद्यालय हो की ? विद्यालयका नाममा खोलिएको संरचना मात्रै हो । बुझ्न निकै कठिन भएको छ ।’
ठुला विद्यार्थीलाई चौरमा लस्कर लगाएर बसालिन्छ । ‘बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुला चौरमा बस्छौँ । धुलोसँग खेल्छौँ ।’–कक्षा ४ की छात्रा रमिला बुढाले भन्नु भयो–‘नामको मात्रै विद्यालय छ । विद्यालयमा पढ्ने वातावरण छैन ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बुढाका अनुसार यो गौरी गाउँका लागि खोलिएको विद्यालय हो । यहाँ ४० घरपरिवारका विद्यार्थीले यहाँ अध्ययन गर्छन् । विद्यालयको अवस्था हेरेर कतिपय अभिभावकले विद्यार्थीलाई निजी विद्यालयमा पढ्न पठाउने गरेका छन् ।
उहाँले अधिकांश अभिभावकको चासो निजी विद्यालयतिर गएकोले सरकारी विद्यालयको अवस्था निकै जीर्ण हुँदै गएको बताउनु भयो ।
विद्यार्थीहरूलाई प्रयाप्त कक्षकोठाको व्यवस्थापन गर्न स्थानीय सरकार, कर्णाली प्रदेश सरकार, संघीय सरकारदेखि सामाजिक सङ्घ संस्थासम्म पुगेपनि कसैले सुनुवाई नगरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘हामी विद्यार्थीको दुख प्रति निकै संवेदनशील छौँ । तर, विद्यार्थीको पीडा बुझिदिने सरकार भेटाउन सकेका छैनौँ । नजिकैको स्थानीय सरकारले पनि यो विद्यालयलाई उपेक्षा गरिरहेको छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाले भन्नु भयो–‘विद्यालयको दरबन्दीमा दुई जना शिक्षक छन् । निजी एक, इसिडी शिक्षक एक र कार्यालय सहयोगी एक जना गरी पाँच जना शिक्षक, कर्मचारी छन् । उनीहरू विद्यालयमा आउने चौरमा विद्यार्थी पढाउने र घर फर्किने गर्छन् ।’
कनकासुन्दरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायण न्यौपाने विद्यालयको भौतिक संरचना निकै जीर्ण अवस्थामा रहेको बताउनु भयो । उहाँले भन्नुभयो–‘विद्यालयको पठनपाठन र भौतिक संरचनाको अवस्था हेर्दा निकै दयनीय देखिएको छ । यो अवस्थाले गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिँदैन ।’
गत आर्थिक वर्ष ०७८/०७९ मा ११ लाख बजेट विनियोजन भएको थियो । त्यो रकमले भत्केको भवन भन्दा पनि अरु भवनका कक्षा कोठामा पानी छुइने, पानी पस्ने भएको थियो । त्यो मर्मत भयो । झ्याल ढोका जीर्ण भएका थिए । मर्मत गरिएको छ । तर भत्केको भवन पुर्ननिर्माण हुन सकेको छैन । भत्केको भवन पुर्ननिर्माण गर्नका लागि कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र सामाजिक विद्यालय मन्त्रालयमा बजेट माग गरेका छौँ । माग सम्बोधन भएपछि भवन पुर्ननिर्माण गर्ने तयारी गरेको उहाँले बताउनु भयो ।

मानदत्त रावल




