काठमाडौं । नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जीवनसंगिनी राधिका शाक्यको आत्मकथा ‘करुणा’लाई सत्यतथ्य मात्र समेटिएको पुस्तक भन्दै प्रशंसा गरेका छन्। काठमाडौँमा आयोजित पुस्तक लोकार्पण समारोहमा उनले ‘करुणा’लाई २४ क्यारेट सुनसंग तुलना गर्दै पुस्तकमा कुनै काल्पनिकता नरहेको उल्लेख गरे।
ओलीले भने, “मैले पढ्दा किताब निकै राम्रो लाग्यो। यो कुनै उपन्यास होइन, सत्य कुराको लिखत हो। यसमा कुनै मिश्रण छैन, यो २४ क्यारेट सुन जस्तै शुद्ध छ। पुस्तकमा उल्लेखित कुराहरू सत्य हुन् र त्यसमा कुनै प्रश्न उठ्न सक्दैन। म यसको साक्षी हुँ।
उनले पुस्तकमा व्यक्त भावनाहरूप्रति पनि धारणा व्यक्त गर्दै भने, “पुस्तक पढेपछि केही नयाँ कुरा पनि थाहा पाएँ। केही इच्छाहरू, मागहरू रहेछन्। जन्मदिनमा फूल दिनुपर्छ भन्ने कुराले भोलिपल्ट मात्रै याद आउँछ। यति वर्ष यस्तै गर्दै आयो, तर मेरो जन्मदिन भने उनले सधैं भव्य रूपमा मनाइन्।
साथै, उनले आफ्नो प्रारम्भिक अवस्थाबारे स्पष्ट गर्दै भने, “म बाँच्ने-मर्ने ठेगान नभएको मान्छे, जसले घर-खेत सबै सकाएर हिँडेको छु। पाल्न सक्ने हुत्ती भएको व्यक्ति पनि होइन। यही कारणले मैले पहिल्यै स्पष्ट भनेको थिएँ कि श्रीमतीलाई राम्रोसँग पाल्ने हैसियत मसँग छैन।
ओलीको यो अभिव्यक्ति उनका व्यक्तिगत अनुभव र जीवनका सङ्घर्षहरूको झलक दिन्छ, जसले शाक्यको आत्मकथाको सत्यता झनै प्रस्ट्याउने काम गरेको छ।





