रविन्द्र कुमार यादव,सुनसरी । गोल्डेन अस्पतालले आफ्नो १४औं वार्षिकोत्सव आइतबार विशेष कार्यक्रमको आयोजना गरी आफ्नै नयाँ भवनमा मनाएको छ। अस्पतालकी अध्यक्ष तथा निर्देशक आरती आनन्द रौनियार तथा सञ्चालक एवं प्रबन्ध निर्देशक डा. श्यामकुमार रौनियारले केक काटेर वार्षिकोत्सवको खुसी साटासाट गरेका थिए।
कार्यक्रममा बोल्दै सञ्चालक रौनियारले विभिन्न उतारचढावका बीच अस्पतालले आफ्नो सेवा निरन्तर रूपमा अघि बढाएको उल्लेख गरे। उनले भाडाको घरबाट सुरु भएको अस्पताल हाल आफ्नै अत्याधुनिक भवनमा १०० शैय्याको सेवा प्रदान गरिरहेको जानकारी दिए।
गोल्डेन अस्पतालका सिइओ ज्याबुल हकका अनुसार उपचारका लागि आउने ४० प्रतिशतभन्दा बढी बिरामी भारतीय हुन्, भने बाँकी नेपाली बिरामी रहेको बताए। वरिष्ठ फिजिसियन तथा किड्नी रोग विशेषज्ञ डा. रमेशकुमार चौरासियाले अस्पतालले औसत खर्चमा गुणस्तरीय उपचार सेवा दिइरहेको जानकारी गराए।
अस्पतालका प्रबन्ध निर्देशक डा. श्याम रौनियारले भविष्यमा क्याथ ल्याब भित्र्याई मुटु रोगीहरूको लागि भरपर्दो उपचार सेवा प्रदान गर्ने योजना रहेको बताए। यसका लागि १२ करोडभन्दा बढी लगानी गर्ने तयारी रहेको जानकारी गराउँदै उनले निःसन्तान दम्पतीहरूका लागि आइभिएफ सेवा सुरु गर्ने योजना रहेको पनि बताए।
गोल्डेन अस्पतालले डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ, र पिसिएल जनरल मेडिसिन कार्यक्रम सञ्चालन गरिरहेको छ। यसअघि विराटनगर –७, अस्पताल चोकमा भाडाको घरबाट सेवा सुरु गरेको अस्पतालले हाल २२ कठ्ठा क्षेत्रफलमा फैलिएको अत्याधुनिक भवनबाट सेवा दिइरहेको छ। अस्पतालले १९२ स्लाइस सिटी स्क्यान, एमआरआई, मोड्युलर ओटी, एडभान्स आइसीयू, एनआइसीयू, एचडिसियू जस्ता प्रविधिहरू समावेश गरी उपचार सेवा प्रवाह गरिरहेको छ।
१३ वर्षदेखि निरन्तर सेवा दिइरहेको अस्पतालले पूर्वाञ्चलमै पहिलो मृगौला रोग विशेषज्ञ टिमसहित ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी (पित्तथैली शल्यक्रिया) प्याकेज सञ्चालन गरेको छ। नेपालका साथै भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट समेत बिरामीहरू उपचारका लागि आउने हुँदा अस्पताल पहिलो रोजाइ बन्न सफल भएको दाबी गरिएको छ।