इनरुवा । सुनसरीको दुबी नगरपालिका वडा नम्बर ६ स्थित युनाइटेड टेनराइज र एसियन लेदर छाला उद्योगले फैलाउने प्रदूषण र दुर्गन्धको समस्याबाट स्थानीयवासी आक्रोशित बनेका छन्। स्थानीयहरूले फोहोर, दुर्गन्ध र प्रदूषणका कारण परेशान भएको भन्दै उद्योग बन्द गर्न दबाब दिएका छन्।
स्थानीय चन्दन रौनीयारका अनुसार, सरोकारवाला निकायमा पटक-पटक ध्यानाकर्षण गराउँदा पनि उचित कारबाही नभएको भन्दै उद्योग बन्द गर्ने चेतावनी दिइएको छ। आज स्थानीयहरूले छाला उद्योग विरुद्ध नाराबाजी गर्दै पत्रकार सम्मेलन समेत गरेका छन्। उनीहरूले २४ घण्टा भित्र उद्योग बन्द गर्नुपर्ने र नगराए तालाबन्दी गर्ने चेतावनी दिएका छन्।
स्थानीय मो. सलमानका अनुसार, विभिन्न निकायमा निवेदन उजुरी गर्दा पनि सुनुवाई नभएकाले तालाबन्दी गर्नुपर्ने अवस्था आएको छ। छाला फ्याक्ट्री पीडित संघर्ष समितिका सुकेन शर्माले उद्योगले फोहोर व्यवस्थापनमा लापरवाही गरेको आरोप लगाएका छन्।
विभागीय अधिकारीहरूले युनाइटेड टेनराइज छाला उद्योगलाई वातावरणीय अध्ययन (आईईई, ईआईए) स्वीकृत नगरी उद्योग सञ्चालन गर्न रोक लगाउने भनेको थियो। तथापि, उद्योगले उक्त निर्देशको बेवास्ता गरेको पाइएको छ। एसियन लेदर छाला उद्योगलाई पनि सात दिन भित्र आवश्यक कागजपत्र पेश गर्न भनिएको छ।
स्थानीयले उद्योगमा ताला लगाउने विकल्प नपाइ आक्रोशित बनेका छन्, र पिडितहरूले माथिल्लो निकायहरूको सहयोगको आशा गरेका छन्।