इनरुवा । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ पटनाली खोलाबाट सशस्त्र प्रहरीले गस्तीका क्रममा ९७ केजी अवैध गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार पटनाली खोलाबाट दक्षिण चतरा–धरान सडक खण्डतर्फ जाँदै गरेको अवस्थामा अपरिचित व्यक्तिहरुले झोलामा बोकेको गाँजा फेला परेको हो। प्रहरीलाई देखेपछि उनीहरू फरार भएका थिए।
बरामद गरिएको गाँजा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराले फेला पारेको थियो। पक्राउ गर्न नसकिएको व्यक्तिबाट फालिएको उक्त गाँजा अहिले नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिनुभयो।
अवैध लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता उल्लेखनीय देखिएको छ।





