इनरुवा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सुवर्ण घिमिरे नेपाल प्रशासन सेवाको राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) पदमा बढुवा भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै प्रकाशित गरेको बढुवा सूचीमा उहाँको नाम समावेश गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेको कार्यकालमा भोक्राहा नरसिंह गाउँपालिकामा विभिन्न प्रशासनिक र विकासीय जिम्मेवारीलाई कुशलतापूर्वक सम्हाल्दै आएको छ। उहाँले जनसेवा प्रभावकारी बनाउन सुधारमूलक कदमहरू उठाउनुका साथै, सेवा प्रवाहलाई द्रुत र प्रभावकारी बनाउन डिजिटल प्रणालीको प्रयोगलाई प्राथमिकता दिनुभएको छ।
यता गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले घिमिरेलाई बधाई दिँदै आगामी कार्यकालमा सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले घिमिरेको कार्यक्षमताको प्रशंसा गर्दै स्थानीय प्रशासनलाई थप व्यवस्थित बनाउन उहाँको नेतृत्वदायी क्षमताको उच्च मूल्याङ्कन गर्नुभएको छ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेको नेतृत्वमा पालिकामा भएका सुधारहरू:
१. सेवा प्रवाहमा सुधार: नयाँ प्रविधिको प्रयोग र कर्मचारीहरूको क्षमता अभिवृद्धिमा जोड दिइएको छ, जसले सेवाग्राहीलाई छिटो र पारदर्शी सेवा उपलब्ध गराउन मद्धत पुर्याएको छ।
२. विकास आयोजनाको व्यवस्थापन: श्री घिमिरेको नेतृत्वमा स्थानीय पूर्वाधार विकास र जनतासँग प्रत्यक्ष सरोकार राख्ने योजना कार्यान्वयनमा आएका छन्, जसका ठोस परिणामहरू देखिएका छन्।
३. सूचना प्रणालीको सुदृढीकरण: सूचना प्रवाहलाई व्यवस्थित गर्न डिजिटल माध्यममार्फत सूचना व्यवस्थापन प्रणाली लागू गरिएको छ।
४. जनप्रतिनिधिहरूसँगको सहकार्य: जनप्रतिनिधिहरूसँगको समन्वय र सहकार्यमार्फत स्थानीय विकासका महत्वपूर्ण कामहरू सम्पन्न भएका छन्।
त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै ३४ जना शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवा गरेको सूची प्रकाशित गरेको छ, जसमा घिमिरेको नाम पनि समावेश छ। बढुवा भएका सबै उपसचिवहरूलाई पाँच दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिने मन्त्रालयले जनाएको छ।
यता “विकासप्रेमी” घिमिरेको बढुवाले गाउँपालिकामा प्रशासनिक कार्यसम्पादनमा थप ऊर्जा र उत्साह थप्ने विश्वास गरिएको पालिका अध्यक्ष अजमल अख्तर आजादले जानकारी दिएको छ।त्यसैगरी भाेक्राहा नरसिंह गाउँपालिकाका स्थानीयवासी, स्थानीय जनप्रतिनिधि र कर्मचारीहरूले पनि उहाँलाई बधाई ज्ञापन गर्दै आगामी कार्यकालमा थप सफलताको शुभकामना दिएका छन्।





