रविन्द्र यादव ,विराटनगर । नेपाल तामाङ लामा घेदुङ संघीय समितिको आयोजनामा भव्य रूपमा सोनम ल्होछार कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि को रूपमा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले विशेष सम्बोधन गर्नुभएको छ।
मन्त्री मण्डलले आफ्नो सम्बोधनमा तामाङ समुदायको सांस्कृतिक पहिचान संरक्षण तथा प्रवर्द्धनको महत्वमा जोड दिँदै सरकारले पर्यटन र संस्कृतिको प्रवर्द्धनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले विविध समुदायको संस्कृतिले नेपाललाई अझ समृद्ध बनाउने उल्लेख गर्दै ल्होछार पर्वको अवसरमा सबैलाई शुभकामना दिनुभयो।
कार्यक्रममा तामाङ समुदायका अगुवाहरू, बौद्ध भिक्षुहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विविध सांस्कृतिक झाँकी, परम्परागत नृत्य तथा संगीत प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
सोनम ल्होछार तामाङ समुदायको प्रमुख पर्व हो, जसलाई नयाँ वर्षको रूपमा पनि मनाइन्छ। यो पर्व बुद्ध धर्मका अनुयायीहरूले विभिन्न धार्मिक अनुष्ठान, पूजापाठ तथा सांस्कृतिक कार्यक्रम गरी धुमधामका साथ मनाउने परम्परा रहेको छ।





