विराटनगर । स्वतन्त्र पत्रकार संघ सुनसरी जिल्ला समितिले कोशी प्रदेशसभामा पेश भएको “प्रदेश सञ्चार सम्बन्धी विधेयक-२०८१” मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्ने प्रावधान रहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।
सुनसरी जिल्ला समितिको सचिव रविन्द्र कुमार यादव द्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकारहरूलाई दण्डित गर्ने, सञ्चार माध्यममाथि नियन्त्रण गर्ने तथा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रावधान अस्वीकार्य रहेको उल्लेख गरिएको छ। साथै, प्रदेश सञ्चार प्रतिष्ठानलाई सरकारी नियन्त्रणमा राख्न खोजिएको भन्दै यसले पत्रकारहरूलाई आत्मनियन्त्रण (Self-censorship) गर्न बाध्य पार्ने र स्वतन्त्र पत्रकारितामा बाधा पुर्याउने बताइएको छ।
यादवले प्रदेशसभाले विधेयक पुनरावलोकन गरी आवश्यक परिमार्जन गर्नुपर्ने र पत्रकार महासंघ तथा अन्य सरोकारवालाहरूले प्रेस स्वतन्त्रताको रक्षा गर्न सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्। साथै, यदि पत्रकारहरूको माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन्।






