सुनसरी । नेपाल राष्ट्रिय शिक्षक संगठन भोकाहा नरसिंह गाउँ कमिटीको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै शिक्षकहरूको हकहित, अधिकार सुरक्षण तथा शैक्षिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
शिक्षकहरूको पेशागत सुरक्षा, तलब सुविधा, शिक्षण वातावरण सुधार, तालिम तथा स्रोतसाधनको पहुँच विस्तारजस्ता विषयमा संगठनले सक्रिय रूपमा काम गर्ने जनाएको छ। साथै, शैक्षिक नीतिहरूको प्रभावकारी कार्यान्वयन, डिजिटल शिक्षाको प्रवर्द्धन र ग्रामीण क्षेत्रका विद्यालयहरूलाई थप सुधार गर्ने विषयमा छलफल गरिएको थियो।
नयाँ कार्यसमितिको नेतृत्वमा श्याम सुन्दर यादव अध्यक्ष, गुगली मेहता उपाध्यक्ष, र इन्द्रलाल उराँव सचिव चयन भएका छन्। उनीहरूले शिक्षकहरूको आवाज बुलन्द गर्दै सरकार र सरोकारवालासँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।
उक्त अधिवेशनमा स्थानीय शिक्षक, बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





