विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले फागुपूर्णिमा (होली) पर्वले नेपालीहरूबीच एकता र सद्भाव अभिवृद्धि गर्दै विकास र समृद्धिको मार्गमा अघि बढ्न प्रेरणा दिने बताउनुभएको छ।
होली पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले मौलिक र परम्परागत पर्वहरूले एकआपसमा भाइचारा वृद्धि गर्दै हाम्रा धर्म, संस्कृति र पहिचानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो।
उहाँले फागुपूर्णिमा असत्यमाथि सत्यको विजयको उत्सवको रूपमा मनाइने पर्व भएको उल्लेख गर्दै, यसले सबैलाई सत्यको मार्गमा हिँड्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
मुख्यमन्त्री कार्कीले नेपाली समाजको मौलिक परम्परा संरक्षण गर्दै आपसी सद्भाव र एकताका साथ पर्व मनाउने प्रचलनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा साकार पार्न मद्दत गर्ने धारणा व्यक्त गर्नुभयो।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुपहिचानयुक्त राष्ट्र भएकाले नेपालीहरूबीचको एकता झन् मजबुत बनेको उहाँले बताउनुभयो। साथै, होली पर्वको अवसरमा समृद्धिको बाटोमा अघि बढ्न सबैलाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।





