इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ फुलचोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिका–१० का २० वर्षीय सरफराज अन्सारी र हरिनगर गाउँपालिका–१ का २० वर्षीय मोहजिद (माजिद) अन्सारीको घटनास्थलमै मृत्यु भएको हो।
त्यसैगरी इनरुवा नगरपालिका–१० का २१ वर्षीय सोहेब अन्सारी गम्भीर घाइते भई सप्तकोशी न्युरो अस्पतालमा उपचाररत छन्।
प्रहरीका अनुसार प्रदेश १–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–००३ त ९०२ नम्बरको ट्र्याक्टरबीच ठक्कर भएको हो। उक्त मोटरसाइकलमा तीन जना सवार थिए।
दुर्घटनापछि ट्र्याक्टर चालक भोक्राहा नरसिंह गाउँपालिका–३ निवासी ४६ वर्षीय सुब्दी राम चमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो।
