गरिबी निवारण, आर्थिक सशक्तिकरण र सामाजिक उत्थानमा सहकारी संस्थाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि., विराटनगर-३ का उपाध्यक्ष प्रेम बहादुर खड्काले बताउनुभएको छ।
उहाँका अनुसार सहकारी संस्था खासगरी स्थानीय समुदायको सक्रिय सहभागितामा स्थापना भई बचत परिचालन गर्दै आर्थिक तथा सामाजिक क्षेत्रमा आवश्यक पर्ने वित्तीय खाँचो पूर्ति गर्ने सशक्त माध्यम हुन्। सहकारीमा सञ्चालित कारोबारले आत्मनिर्भरता र आर्थिक समृद्धिको बाटो खोल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
“सहकारीमा निक्षेप, कर्जा र ब्याजदरको वर्तमान व्यवस्थालाई सुधार गर्दै कारोबारलाई थप प्रभावकारी र पारदर्शी बनाउन सकेमा शेयर सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्,” उपाध्यक्ष खड्काले भन्नुभयो।
उहाँले केही सहकारीका कमजोर व्यवस्थापन र सञ्चालकहरूको गैरजिम्मेवार गतिविधिका कारण सम्पूर्ण सहकारी क्षेत्रलाई सर्वसाधारणले शंकाको दृष्टिले हेर्न थालेको गुनासो गर्दै, सिद्धान्त र उद्देश्यअनुसार इमान्दारिताका साथ सञ्चालित सहकारीहरू अझै पनि मजबुत रूपमा अघि बढिरहेको उल्लेख गर्नुभयो।
“कृषि सहकारीले जस्तै बचत तथा ऋण सहकारी संस्थाले पनि सरकारी सेवा, सुविधा र प्रोत्साहन पाउने हो भने सहकारी क्षेत्रमा नयाँ आयाम थपिनेछ,” उहाँले भन्नुभयो, “यसले लगानी वृद्धि हुने मात्र होइन, बचतकर्ता र शेयर सदस्यहरूको कारोवार पनि उत्साहजनक रूपमा वृद्धि हुनेछ।”
उपाध्यक्ष खड्काले सहकारी क्षेत्रलाई मजबुत बनाउँदै जानु नै दिगो विकास र गरिबी निवारणतर्फको बलियो पाइला हुने निष्कर्ष व्यक्त गर्नुभयो।