रविन्द्र कुमार यादव , विराटनगर । डा. खलिल आजाद खेल मैदान, भोक्राहामा ५ गते देखि १७ गते सम्म हुन गइरहेको KPL (Koshi Premier League) दोस्रो सिजन को ट्रफी भव्य समारोहका बीच कोशी नदीको किनारमा अनावरण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री पाँचकर्ण राई, विशिष्ट अतिथि वन तथा वातावरण मन्त्रालय मन्त्री सदानन्द मण्डल, विशेष अतिथि भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद, KPL दोस्रो सिजनका संयोजक गोपिन्द पौडेल, खेलकुदका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, खेलाडीहरू, स्थानीय बुद्धिजीवी, पत्रकार, पालिका कर्मचारी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा मन्त्री सदानन्द मण्डलले स्थानीय खेलाडीहरूलाई प्राथमिकता दिनुपर्ने र यस किसिमका प्रतियोगिताहरूले भविष्यका खेलाडीहरूलाई उत्प्रेरित गर्ने बताउनुभयो। त्यस्तै, गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद ले स्थानीय स्तरमा खेलकुद प्रवर्द्धनका लागि यस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
KPL खेलकुद प्रतियोगिताले स्थानीय प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर दिने भएकाले खेलाडीहरू उत्साहित देखिएका थिए। कार्यक्रममा उपस्थित खेलप्रेमी, बुद्धिजीवी, पत्रकार तथा पालिका कर्मचारीहरूले भोक्राहामा हुन गइरहेको यस खेलमा राष्ट्रिय खेलाडीहरू पनि सहभागी हुने भएकाले गर्व र खुसी व्यक्त गरे ।
KPL खेलका निर्देशक अब्जल हुसेन ले सम्पूर्ण सहभागी टोलीहरू, खेलाडीहरू, तथा सहयोगी निकायलाई धन्यवाद व्यक्त गर्दै KPL लाई अझ व्यवस्थित र सफल बनाउन प्रतिबद्ध रहेको बताउनुभयो।
KPL सिजन २ ले खेलकुद प्रवर्द्धन गर्दै स्थानीय खेलाडीहरूलाई नयाँ अवसर प्रदान गर्ने मात्र नभई समुदायमा खेलकुदप्रति जागरूकता फैलाउने महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।