इनरुवा । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज २०८१ को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन्। अध्यक्ष अन्सारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिलाहरूलाई तीज पर्वले शान्ति, समृद्धि, र सामाजिक सद्भावको अभिवृद्धि गरोस् भन्ने कामना गरेका छन्।
उनले सन्देशमा तीज पर्वले नेपाली समाजमा महिलाहरूको एकता, संघर्ष, र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन्। साथै, तीजले महिलाहरूको हक, अधिकार र सामाजिक स्थानलाई अझै सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।
अध्यक्ष अन्सारीले तीज पर्वलाई धार्मिक, सांस्कृतिक, र सामाजिक दृष्टिकोणले उच्च महत्त्व दिँदै यो पर्वले समाजमा विद्यमान लैंगिक विभेद र जातीय भेदभावजस्ता सामाजिक कुरीतिहरूलाई उन्मूलन गर्न सहयोग पुर्याउने बताए। उनले तीजले महिलाहरूको सामाजिक योगदानको सम्मान गर्दै समतामूलक समाजको निर्माणमा टेवा पुर्याउने उल्लेख गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले पनि तीज पर्वको अवसरमा सबैलाई शुभकामना दिँदै, महिला सशक्तीकरणको अभियानमा हरिनगर गाउँपालिकाको सक्रिय योगदान रहने प्रतिबद्धता व्यक्त गरे।
उपाध्यक्ष रिमझिम कुमारी भगतले पनि तीज पर्वले महिला सशक्तीकरणको अभियानलाई थप बल प्रदान गर्ने विश्वास व्यक्त गर्दै यस पर्वलाई जातीय, धार्मिक, र सामाजिक एकताको प्रतीकको रूपमा लिनुपर्नेमा जोड दिइन्।
प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यउपाध्यक्ष रिमझिम कुमारी भगत