इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका वडा- ३ गाैतमपुरमा ३ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । हरिनगर गाउँपालिका कार्यालयको आयोजनामा संचालित तालिमको एक कार्यक्रमको आयोजना गरि आज सम्पन्न भएको हो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागिहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका उपाध्यक्ष भगतले गाउँपालिकाले सिपमुलक तालिमलाई मुख्य प्रथामिकतामा राखेर अघि बढेको बताउँदै आगामी दिनमा समेत कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । उनले सिलाइ कटाई मेसिन हस्तान्तरण गर्दै महिलाहरु आत्मनिर्भर बन्ने दाबी गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगतले महिलाहरुलाई स्वरोजगार बनाउन यस तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उनले युवा तथा महिलाहरुलाई आत्मनिर्भर बन्नका लागि विभिन्न कार्यक्रमहरुको योजना सहित पालिका अगाडी बढेको बताउनु भयो ।
गरिब तथा विपन्न वर्गका समुदायलाई समेटेर गरिएको तालिम प्रभावकारी र फलदायी भएको हरिनगर गाउँपालिका वडा न-३ का वडाध्यक्ष अरबिन्द कुमार मेहताले बताउनुभयो । तालिममा सहभागि २९ जना महिलालाई टिका र प्रमाण पत्रद्धारा सम्मान गरिएको थियो । तालिममा सहभागि महिलालाई आत्मनिर्भर बन्नका लागि २९ थान सिलाई कटाई मेशिन समेत प्रदान गरिएको थियो ।





