इनरुवा । सुनसरीको कोसी गाउँपालिका–३ नहर चौकमा दुर्गा प्रसाई सवार गाडीको ठक्करबाट कार्तिक २५ गते घाईते भएका एक जनाको शुक्रबार उपचारको क्रममा मृत्यु भएको छ ।
उपचारको मृत्यु हुनेमा कोशी गाउँपालिका ३ का स्थानीय ६० बर्षिय फुलेश्वर मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमिल्सनाले जानकारी दिनुभयो ।
कात्तिक २५ गते पूर्व पश्चिम लोकमार्ग अन्तर्गत लौकहीबाट कोसी ब्यारेज तर्फ गईरहेको को १८ प ७६९४ नम्वरको मोटरसाईकललाई सोही दिशाबाट गईरहेको बागमती प्रदेश ०१–०२८ च ०२०१ नम्वरको गाडीले ठक्कर दिदाँ मेहता घाईते हुनुभएको थियो । घाईते भएका मेहतालाई भोक्राहा–४ मा रहेको सप्तकोसी न्युरो अस्पतालमा उपचारका लागि ल्याइएकोमा यहाँ उपचार सम्भब नभएपछि थप उपचारका लागि बिराटनगरको नोबेल अस्पताल लगिएको थियो । उपचारका क्रममा मेहताको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यता आफन्तले प्रसाईको गाडीको ठक्करबाट घाईते भएका मेहताको अवस्था राम्रै रहेकामा सप्तकोसी न्युरो अस्पतालको लापरवाहीका कारणले मृत्यु भएको आरोप लगाएका छन् ।
गाडीको ठक्करबाट घाईते भएका मेहता बोल्ने अवस्थामा रहेकामा सप्तकोसी न्युरो अस्पतालका डाक्टरले ओभरडोज मेडिसिन प्रयोग गर्न लगाएकाले बिरामीको नोबेल अस्पतालमा मृत्यु भएको मृत्तककी श्रीमती लिलादेवी मेहताले आरोप लगाउनुभयो ।
दुर्घटनामा घाईते भएका मेहताको अवस्था सामान्य रहेको भन्दै सप्तकोसी न्युरो अस्पतालले जानकारी गराएको र अप्रेसनका क्रममा अभोरडोज मेडिसीन प्रयोगले बिरामी भेन्टिलेटरमा लगिएका बेलामा यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल मेडिकल कलेज बिराटनगर पठाइएको थियो ।
घटनाको विषयमा छानबिन गर्न र दोषीलाई कारवाहीको माग गर्दै पीडित परिवारले शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले बताउनुभयो ।
घटनाको विषयमा अनुशन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । यता सप्तकोसी न्युरो अस्पताल भोक्राहा नरसिंहका सञ्चालक रामबाबु गिरीले अस्पतालको कुनै दोष नरहेको दाबी गर्नुभयो । उहाँले अस्पतालमा ल्याइएको बिरामीलाई उपचार गरेको र थप उपचारका लागि बिराटनगर पठाएको बताउनुभयो । मृत्तकका आफ्न्तले लगाएको अरोपमा सत्यता नरहेको गिरीको दाबी रहेको छ ।





