जनकपुर । स्थानीय १० वर्षीया बालिकालाई अश्लील शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको आरोपमा सशस्त्र प्रहरीका सई (प्रहरी नायब निरीक्षक) धर्वेन्द्र महतो पक्राउ परेका छन्।
महोत्तरीको लोहारपट्टीमा रेल्वे सुरक्षार्थ खटिएका महतोले शुक्रबार बिहान करिब ९ बजे स्थानीय बालिकालाई दुर्व्यवहार गरेको आरोप लागेको हो। उनी रेल्वे सुरक्षा बेस क्याम्पका सहायक हुन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मर्निङ वाकका क्रममा महतोले बालिकालाई अश्लील शब्द प्रयोग गरेका थिए। सो घटनालाई लिएर दिउँसो बालिकाका बुवा सोधपुछ गर्न सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प पुगेका थिए, जहाँ विवाद बढ्दै स्थानीयले नाराबाजी गर्दै बेस क्याम्प घेराउ गरेका थिए।
स्थानीयको दबाबपछि सशस्त्र प्रहरीले महतोलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।





