दाङ । निवर्तमान एमाले केन्द्रीय सदस्य गंगा चौधरीले विदेशीको दवावमा पार्टी नेतृत्वले आफूलाई टिकट नदिएको बताएकी छन् । आइतबार स्वतन्त्र उम्मेदवारी दिएकी उनले सोमबार एमाले नेतृत्वमाथि यस्तो गम्भीर आरोप लगाएकी हुन् ।
सोमबार दाङमा आयोजित भेलामा उनले भनिन्, ‘मैले भारतको हस्तक्षेपबारे प्रश्न उठाउँदै आएकी थिएँ, यो कुरा सबैलाई थाहा छ, चुच्चे नक्साको समर्थनमा मैले आवाज उठाएकै हो ।’ तर आज नेकपा एमाले पनि बाहिरिया छिमेकी राष्ट्रको दबावमा परेर हामीजस्तो देशको हित चाहने व्यक्तिलाई टिकट दिएन ।’
उनले आफूले विगतमा प्रतिनिधिसभाबाट तत्कालीन सांसद सरिता गिरिलाई आफूले आउट गर्न भूमिका खेलेको भन्दै गर्व गरिन् । एमसीसीको विरुद्धमा आवाज उठाएको नतिजास्वरुप पार्टीले आफूलाई दण्डित गरिएको उनको दावी थियो ‘मैले कुनै व्यक्तिगत स्वार्थबस हिजो उम्मेदवारी दिएकी होइन, मेरो एउटै स्वार्थ छ यो देश बचोस्’ उनले भनिन् ।





