रविन्द्र यादव । इनरुवा इनरुवा, असोज ३१ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ को नरसिंह स्वास्थ्य चौकीमा पाँच वर्षअघि निर्माण गरिएको प्रसूति गृह बल्ल सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भएको झन्डै ४ वर्ष भइसक्दा पनि सञ्चालनमा आउन नसक्दा स्थानीय मार्कामा परेको गुनासोलाई ध्यानमा राखेर उद्घाटन गरिएको हो । नरसिंह स्वास्थ्य चौकीको प्रसूति गृह सञ्चालन भएपछि गर्भवती महिलालाई गाउँमै सहज प्रसुति गराउन पाउने भएको स्थानीय मानव अधिकार समूहका अध्यक्ष नुनुलाल साहले जानकारी दिनुभयो ।




नेपालको संविधानले नै महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धित हक प्रदान गरेकाले त्यसको कार्यान्वन गर्नका लागि र उपयोग विहिन रहेको प्रसुति गृहलाई संचालन गर्ने गरि गाउँपालिकाका अध्यक्ष अजमल अख्खतर आजादले उद्घाटन गर्नुभएको हो । सोमबार मातृत्व र प्रजनन स्वास्थ्यलाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउनु राज्यको दायित्व भएकाले प्रसुति गृह संचालन गरिएको आजादले बताउनुभयो । गाउँगाउँमा प्रसूति गृह नहुँदा महिलाले बाटोमा नै बच्चा जन्माउनुपर्ने बाध्यताका कारण महिलाको स्वास्थ्यमा जोखिम रहेकोमा अव प्रसुति गृहसगैं महिलालाई सहज र सुरक्षित सुत्केरी गराउन पाउने भएको छ । कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिता कुमारी उराँव, प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरे, स्वास्थ्य शाखा प्रमुख हिरा साह, भोक्राहा नरसिंह ८ नम्बर वडा अध्यक्ष बौवालाल यादव, स्वास्थ्य चौकीका इन्चार्ज रामाशंकर साह सहितको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नरसिंह स्वास्थ्य चौकीका इन्चार्ज रामाशंकर साहले प्रसुति गृह सञ्चालनमा आएपछि महिलालाई सुत्केरी गराउन अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताउनुभयो् । उहाँले अहिले प्रसूति गृह सञ्चालनमा आएकाले गर्भवतीको अवस्था हेरेर सेवा दिने र जटिल खालका भए अन्यत्र पठाउने बताउनुभयो । राम्रो प्रसूति गृह नहुँदा घरमै असुरक्षित सुत्केरी गराउन बाध्य स्थानीय आफ्नै गाउँमा प्रसूति गृह बनेसँगै सो समस्याबाट मुक्ति पाउने भएकाले साहको भनाई छ । प्रसूति गृहको स्थापनासँगै महँगो खर्च गरेर अन्य सहरका अस्पतालमा जानुपर्ने झन्झट र दुःखबाट छुट्करा पाउने भन्दै स्थानीय दंग बनेका छन् । पाँच वर्षअघि नेपाल सरकार र बेलायत सरकारको सहयोगमा सञ्चालित सामुदायिक विकास कार्यक्रम (सिडिपी) को लागतमा प्रसूति गृह निमार्ण भएको थियो ।