सुनसरी । ३०औं विश्व आदिवासी दिवसको अवसरमा सुनसरीमा अल्पसंख्यक उराव समुदायलाई उनीहरुले बजाउने ‘मानर डिगा’ बाजा वितरण गरिएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले दुई दर्जन टोलीलाई उराउहरुको सांस्कृतिक बाजा मानर डिगा वितरण गरेको हो ।
आदिबासीहरुको सांस्कृतिक पहिचान तथा त्यसको संरक्षण र प्रवर्धनको उद्देश्यसहित उराव समुदायलाई बाजा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद मियाले जानकारी दिनुभयो ।
तराईको भूमि खेतीयोग्य बनाउन जंगल फडानी गरेर बसोबास गर्दै आएको आदिबासी जातिमध्ये पर्छ अल्पसंख्यक उराव समुदाय । शिक्षा, स्वास्थ्य र आर्थिक रुपमा पिछडिएको उराउ जाति सुनसरीमा ४० हजारको हाराहारीमा छन् ।