इनरुवा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका वडा नं ४ मा अनलाइन प्रक्रियाद्वारा नागरिकता सिफारिस सेवा सञ्चालनमा आएको छ। प्रविधिमैत्री सेवा विस्तार गर्ने उद्देश्यका साथ वडा कार्यालयले यो प्रणाली लागू गरेको हो।
वडासचिव शोभानन्द साहका अनुसार, यो सेवा सञ्चालनमा आएपछि सेवाग्राहीहरूले अनलाइनमार्फत आवश्यक कागजातहरू अपलोड गरी नागरिकता सिफारिसको निवेदन दिन सक्नेछन्। यसले अनावश्यक झन्झट कम गर्दै पारदर्शी र छरितो सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।
वडाध्यक्ष हारूण अंसारीले अनलाइन प्रणालीले नागरिकहरूलाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्दै भने, “नयाँ प्रविधिको प्रयोगले सेवा सरल र प्रभावकारी हुनेछ। अब वडा कार्यालय धाउनुपर्ने झन्झट घट्नेछ, साथै प्रक्रियागत ढिलाइ पनि हट्नेछ।
वडासचिव साहले पनि अनलाइन प्रणालीले सिफारिस प्रक्रियालाई व्यवस्थित बनाउने जानकारी दिए। उनले थपे, “यो व्यवस्थाले कागजात प्रमाणीकरण छिटो गर्नेछ, जसले गर्दा नागरिकता सिफारिसको प्रक्रिया सरल र सहज हुनेछ।
गाउँपालिकाले प्रविधिमैत्री सेवा विस्तार गर्ने रणनीति लिएको र आगामी दिनमा अन्य सेवाहरू पनि डिजिटल प्रविधिमार्फत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएको छ।