सुनसरी सदरमुकाम इनरुवामा उराँव समुदायका खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहबाट फुटबल खेलमा आवद्ध रहेका उराँव समुदायका युवा खेलाडीलाई आवश्यक खेल सामग्री हस्तान्तरण गरिएको हो । नेपाल उराँव आदीवासी जनजाती प्रतिष्ठान सुनसरीले खेलाडीहरुलाई जर्सि तथा अन्य आवश्यक खेल सामग्री वितरण गरिएको हो । जिल्ला फुटवल संघ एन्फा सुनसरीका उपाध्यक्ष मनोज थापा मगर सहितका फुटवल खेलसँग आवद्ध रहेका खेलाडीहरुको सहभागीता सामग्री वितरण गरिएको छ ।

नेपाल उराँव आदीवासी जनाजाती प्रतिष्ठानका अध्यक्ष बेचन उराँवका अनुसार खेलाडीहरुलाई व्यवसायीक फुटवल खेलमा प्रोत्साहन गर्नका लागि आवश्यक जर्सी बुट, फुटबल लगायतका सामग्रीहरु प्रदान गरिएको हो । खेलकुद क्षेत्रमा उराँव समुदायको योगदान बढाउनका लागि खेल सामग्री वितरण गरिएको अध्यक्ष उराँवले बताउनुभयो ।
सुचना प्रविधिको विकास र बढदो शहरीकरणले युवाहरु कुलत र दुव्र्यसनमा फस्दै गएकाले खेलकुदका माध्यमबाट उनीहरुलाई शारिरीक रुपमा मजवुत बनाउने र खेलकुदमा अब्बल खेलाडीका रुपमा विकास गरि व्यवसायीकता विकास गर्न सहयोग गरिएको बताउनुभयो । इनरुवाको खेल मैदानमा आयोजित कार्यक्रममा मितेरी क्लवका अध्यक्ष हिमाल थापामगर, प्रतिष्ठानका कोषाध्यक्ष सम्पतलाल उराँव, सदस्य दुर्गानारायण उराँव, सुरेश उराँवका साथै प्रशिक्षक शशि थापा मगरको सहभागीता रहेको थियो । इनरुवा तथा आपसपासका पालिकामा बसोवास गर्ने उराँव समुदायका युवाहरुलाई विभिन्न क्षेत्रमा महत्वपूर्ण सहभागीता अभिवृद्धी गर्न नेपाल उराँव आदीवासी जनाजाती प्रतिष्ठानले आवश्यक सहयोग गर्दै आएको कोषध्यक्ष सम्पतलाल उराँवले बताउनुभयो । सुनसरीमा कानुन व्यवसायी, शिक्षक, राजनितीकर्मी, निजामती कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक, मानवशास्त्री, शिक्षाशास्त्री र विमान चालकमा उराँव समुदायले नेतृदायी भुमिका निर्वाह गर्दै प्रतिनिधित्व गराउन प्रतिष्ठानले आवश्यक सहयोग गर्दै आएको छ । हाल युवाहरुलाई खेलाडीका रुपमा विकास गर्न समेत सहयोग अगाडी बढाएको प्रतिष्ठानले जनाएको छ ।





