सुनसरी । भारतसँग जोडिएका तीन जिल्लाको नाकामा स्थानीय प्रशासनले सतर्कता बढाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरले सुनसरी, मोरङ र झापाको सीमावर्ती क्षेत्रमा कडाइ गरेको जनाएको छ ।
मुस्लिम समुदायले गर्ने भनेको धार्मिक सभा स्थगित भए पनि धार्मिक सभाका लागि भन्दै नेपाल आउन खोज्नेहरुलाई प्रहरीले सीमावर्ती रानी नाकाबाट भारत नै फर्काएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिएका छन् । उनले धार्मिक सभा अवधिभरको समयलाई नेपाल प्रवेश गर्न नदिएको बताए । अन्य कामका लागि आउजाउ गर्नेलाई भने रोकावट नरहेको उनले बताए ।
प्रशासनले अनुमति नदिएपछि सुनसरीको इटहरीस्थित खनारमा मंसिर ५ देखि ७ र दुहवीमा ७ देखि ९ गतेसम्म मुस्लिम धर्म सभा ‘इज्तेमा’ गर्ने तयारी स्थगित भएको छ । देशको पछिल्लो परिस्थिति र प्रशासनको आग्रहपछि अहिलेलाई सभा स्थगित गरिएको कोशी प्रदेश सांसद तथा मुस्लिम अगुवा इस्राइल मन्सुरीले बताए ।
धार्मिक सभाका लागि केही धर्मगुरुहरु विदेशबाट आइसकेका भए पनि सभा स्थगित भएकाले धर्मगुरुहरु फर्किने इस्राइल मन्सुरीले बताए । अनुसार पाकिस्तानबाट १५ जनाको टोली र बंगलादेशबाट आठ जनाको टोली नेपाल आएको प्रहरी स्रोतले जानकारी दिएको थियो ।





