रविन्द्र कुमार यादव, सुनसरी पुस २८ गते । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुनसरीको जेल फिल्ड प्राङ्गणमा संयुक्त रूपमा भिड तथा दंगा नियन्त्रणसम्बन्धी डेमोस्ट्रेशन सम्पन्न गरेका छन्। जिल्ला सुरक्षा समिति सुनसरीको आयोजनामा भएको यो कार्यक्रमले भिड नियन्त्रण र कर्फ्यू आदेश कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्य राखेको थियो।
कार्यक्रमको अध्यक्षता जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले गर्नुभएको थियो। कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी, सशस्त्र प्रहरी बल बराह बाहिनीका प्रमुख शम्भु उप्रेती, नेपाली सेनाका कृष्ण दल गणका गणपति सुपर सेनानी सज्यू, र नेपाल प्रहरी विशेष सुरक्षा गण कोशी प्रदेशका प्रमुख वासुदेव खाल्डाल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
डेमोस्ट्रेशन कार्यक्रममा आकस्मिक दंगाको अवस्था सिर्जना गरी त्यसलाई कानूनी दायराभित्र समाधान गर्ने विधि प्रदर्शन गरिएको थियो। संविधान र मानव अधिकारले नागरिकलाई शान्तिपूर्ण प्रदर्शनको अधिकार सुनिश्चित गरे पनि कतिपय प्रदर्शनले हिंसात्मक रूप लिन सक्ने भएकाले, यस्ता गतिविधिलाई नियन्त्रण गर्न स्थानीय प्रशासन ऐन २०२८ बमोजिम चरणबद्ध बल प्रयोगको सिद्धान्त देखाइएको हो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मिश्रले नागरिकको सुरक्षा र मानव अधिकारको सम्मान गर्दै शान्ति सुरक्षाका लागि प्रशासन र सुरक्षाकर्मीको भूमिका अपरिहार्य रहेको बताउनुभयो। सहभागीहरूले डेमोस्ट्रेशनलाई अत्यन्त प्रभावकारी र शिक्षाप्रद भएको प्रतिक्रिया दिएका छन्।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ अनुसार बल प्रयोगको चरणबद्ध सिद्धान्त सरकारी तथा सार्वजनिक सम्पत्ति र नागरिक जीवनको सुरक्षा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायहरूको समन्वय कार्यक्रमले सुरक्षा निकायहरूबीचको समन्वय र दंगा नियन्त्रणको विधिलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।






