सुनसरी । भोक्राहा नरसिंह गाउँपालिका वडा नं २ आकाहाबाट अवैध हतियार सहित एक जनालाई पक्राउ गरेको छ।
मंसिर ८ गते राति ९ बजे जिल्ला प्रहरी सुनसरी कार्यालयको टोलीले गोप्य सूचनाका आधारमा अकाहा बजारका खुर्सित आलमको घरमा छापा मार्दा हतियार फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका नायब उपरीक्षक राम प्रसाद तिमल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले पहिलो घरको पुरानो भान्छा कोठामा खानतलासी गर्दा टिनको छानामुनि लुकाइएको अवस्थामा ठुलो चाइनीज पेस्तोल, त्यसको म्यागजिन र दुई राउण्ड गोली बरामद गरेको हो ।
घटनास्थलबाट ३८ वर्षीय शमसेर आलमलाई नियन्त्रणमा लिइएको छ भने घरधनी खुर्सित आलम फरार रहेका छन् । प्रहरीले अनुसन्धानको क्रममा नजिकै रहेको अर्को घरमा समेत खानतलासी गरेको तर कुनै व्यक्ति नफेला परेको जनाएको छ ।
पक्राउ परेका शमसेर आलमलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर मुलुकी अपराध संहिता २०७४ अनुसार हातहतियार खरखजना सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फरार खुर्सित आलमको खोजीकार्य जारी छ सुनसरी प्रहरीले जनाएको छ ।





