सुनसरी । भारतबाट नेपालतर्फ अवैध रूपमा ब्राउन सुगर भित्र्याउने प्रयासमा धनकुटाका ३२ वर्षीय सरन राई सशस्त्र प्रहरीको फन्दामा परेका छन्।
कोशी गाउँपालिका-१, मेहता टोलबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरी अन्तर्गत बीओपी लौकहीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। शंका लागेपछि गरिएको शरीर जाँचका क्रममा राईले मुखभित्र लुकाएर २.५ ग्राम ब्राउन सुगर ल्याएको खुल्न आएको छ।
प्रहरीले सरन राईलाई लागूऔषध मुद्दामा कारबाहीका लागि प्रक्रिया अघि बढाएको छ। यो घटनाले सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार रोक्न कडाइको खाँचो रहेको औंल्याएको छ। प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा यस्ता घटनाहरू निरन्तर भइरहेकाले नियमित निगरानी र कारबाही आवश्यक रहेको बताउनुभयो ।





